काठमाण्डौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह ‘अभिलाषाका झारहरू’को विमोचन कार्यक्रमका सम्पन्न भएको छ । प्रज्ञा- प्रतिष्ठनका कुलपति भूपाल राईको प्रमुख अतिथ्यतामा पुस्तकको विमोचन गरिएको हो ।
राईले प्रज्ञा-प्रतिष्ठान संस्कृति निर्माण गर्ने प्राज्ञिक थलो भएकाले साहित्यकार र लेखक माझ मात्र नभई स्कूल, क्याम्पस र विश्वविद्यालयसामु प्रज्ञा-प्रतिष्ठान परिचित हुनुपर्नेमा जोडदिनु भएको थियो । कुलपति राईले कवि तथा साहित्यकारहरू खास भ्रष्टाचारी नभएको उल्लेख गर्दै कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह सरल र सहज रहेको बताउनुभएको थियो । उहाँले कविको भावना बेजोड भए जस्तै कविताको परिष्कार भने निरन्तर साधनाले मात्र सम्भव हुने बताउनुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह ‘अभिलाषाका झारहरू’मा सङ्गृहित कविताहरू आफ्नै शैलीमा रचिएका सरल र मौलिक भएको बताउनुभयो । कतिपय कवितामा वर्गीय विभेद, प्रेम र अध्यात्म जनाउने प्रकारका कविता रहेको बताउनुभएको थियो ।
कार्यक्रमका अतिथि समालोचक महेश पौडेलले कवि ओझामा कवित्वको प्रचुर सम्भावना रहेको छ । उहाँका कवितामा दार्शनिक प्रभाव रहेको बताउँदै कविता भनेको दीर्घलेखन पश्चात् परिमार्जन हुनेमा जोड दिनुभएको थियो ।
‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रहका सर्जक राजेन्द्र ओझा ‘नयन’ले आफूले मनोवैज्ञानिक तथा दार्शनिक विषयवस्तुमा कविता लेख्ने गरेको बताउनुभएको थियो ।
उक्त विमोचन कार्यक्रम युनिग्लोब कलेजका अध्यक्ष प्रा. खगेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो । उहाँले प्रज्ञा-प्रतिष्ठान जस्तो प्राज्ञिक निकायमा `अभिलाषाका झारहरू’को विमोचन हुँदा आफूलाई खुसी लागेको बताउनुभएको थियो । उहाँले कविताले जीवन भोगाइ र आफ्ना अनुभूतिलाई व्यक्त गरेको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन कवि राजु भट्टराईले गर्नुभएको थियो । फुसुन प्रकाशनले उक्त कवितासङ्ग्रह प्रकाशित गरेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।