सिर्जना अभियान समाजको आयोजनामा मुक्तककार डा. ऋषि बस्ताकोटीसित संवाद तथा मुक्तकसङ्ग्रह विसङ्गत बस्तीमाथि विमर्श गरियो ।
भक्तपुरको गपलीस्थित ड्रिमल्याण्ड किचेनमा आयोजित सो कार्यक्रममा समाजका सचिव एवं कथाकार ध्रुव मधिकर्मीले विसङ्गत बस्तीमाथि बोल्दै देशको वर्तमान अवस्था, पर्यावरणीय चेतना र मानवीय सरोकारसित जोडिएका सामयिक विषयलाई प्रभावकारी रुपले मुक्तकमा उठाइएको छ भन्नुभयो ।
स्रष्टा ऋषि बस्ताकोटीले विद्यार्थीकालमा साहित्यिक कृतिहरु पढेर त्यसतर्फ रुचि बढेको भन्दै विदेश बसाइमा पनि समय मिलाएर साहित्यिक कर्म गरिरहेको बताउनुभयो ।
कार्यक्रमका संयोजक डा. हिमलाल श्रेष्ठले सिर्जनाका कतिपय कुरा बुझ्न स्रष्टा र पाठक बीच संवाद आवश्यक भएकाले यसप्रकारको कार्यक्रम गरिएको बताउनुभयो ।
स्रष्टा बस्ताकोटीले आफ्ना केही मुक्तकहरु वाचन गर्नुका साथ उहाँसित मुक्तक लेखन र विदेशमा नेपाली साहित्यको अवस्थाबारे शमशेरबहादुर न्हुच्छेप्रधान, गोकुल अधिकारी, राजेशमान केसी, बुद्धिकुमार घो, पदमा खयरगोली, हरिगोविन्द भोमी लगायतले संवाद गर्नुभएको थियो ।
कार्यक्रममा स्रष्टाहरु नवराज शर्मा, सुरेन्द्रलाल भुजू , नवराज पुडासैनी, सन्तोष श्रेष्ठ, हरिकृष्ण बखुन्छे, लक्ष्मी बैद्य, राजेश थापा, चैतन्य अधिकारी लगायतका व्यक्तिहरुको सहभागीता थियो ।
आँपपिपल गोरखामा जन्मेका स्रष्टा बस्ताकोटी हाल अमेरिकाको नर्थ क्यारोलाइनामा बस्नुहुन्छ ।