सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल ‘गणेशलाल स्मृति साहित्य पुरस्कार २०८१’ बाट सम्मानित हुनु भएको छ ।

लोककवि गणेशलाल श्रेष्ठको ११३ औँ जन्मजयन्तीको अवसरमा नेपाल भाषा खलः मकवानपुरमार्फत् उहाँलाई सो सम्मान गरिएको हो । पुरस्कार संस्थापक केशवलाल श्रेष्ठद्वारा स्थापित सो पुरस्कार यसअघि स्व. तुल्सी थापालाई प्रदान गरिएको थियो ।

नेपाल भाषा खलः मकवानपुरले आयोजना गरेको खुला कविता प्रतियोगिता २०८१ मा म्याग्दीकी आरती आचार्य प्रथम हुनु भएको छ । सिन्धुलीका बाबुराम श्रेष्ठ यात्री द्वितीय र अर्घाखाँचीकी पूर्णिमा गिरी तृतीय हुनु भएको हो । यस्तै, प्रतियोगितामा मकवानपुरकी अनुशुया खनाललाई सान्त्वना स्थापन प्राप्त भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः १५ हजार, १० हजार र ५ हजार रहेको थियो भने सान्त्वना पुरस्कार राशि ३ हजार रहेको थियो ।

कूल प्राप्त भएको ५५ कवितामध्ये उत्कृष्ट २० कविताहरू यसअघि नै प्रकाशन गराइ वाचनका लागि सर्जकहरूलाई निम्ता गरिएको थियो भने वाचनमा समेत अङ्क प्रदान गरिएको थियो ।

प्रमुख निर्णायक अनिता न्यौपाने तथा निर्णायकद्वय यश लामा र पुरूषोत्तम आचार्य रहेको निर्णायक मण्डलले कूल १ सय ५० अङ्कमा गरेको मूल्याङ्कनमा न्यौपानेले प्रतियोगीहरूको मूल्याङ्कनका क्रममा भाव, कला, वाचनलगायतका विधामार्फत् अङ्कन गरिएको बताउनुभयो । वाचनका लागि १६ स्रष्टाहरूको उपस्थिति रहेको थियो ।