साहित्यकार तारादेवी सुनुवारको अनुभूतिहरुको सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ प्रकाशनमा आउने भएको छ । रोल्पाली भावभूमिमा रही डायरीको शैलीमा लेखिएको पुस्तक पेज टर्नरबाट प्रकाशनमा आउने भएको भएको हो ।
अनुभूति हुँदा हुँदै पनि काव्यात्मक शैलीमा लेखिएको पुस्तकमा ग्रामीण जीवनको सुन्दरता, नरनारीका कथा, पारिवारिक विरासत र दैनिक अनुभवहरु समेटिएका छन् । वर्णनात्मक भाषामा युद्धकालीन रोल्पाली गाउँको जीवन्त कहानी पुस्तकमा पढ्न पाइन्छ ।
‘यो पुस्तक रोल्पाली जनजीवनलाई नियाल्न सकिने सुन्दर झ्याल हो जहाँबाट पाठकले युद्धको आँधीले विचलित भूगोल, निर्दोष समुदाय र अभावको बगरमा गुज्रिएको माटोको जीवन्त चित्र देख्नसक्छन् ।’, पुस्तकको बारेमा प्रकाशक भन्छन्, ‘एक राष्ट्रसेवक कर्मचारी फरक भाषा, रीतिरिवाज, संस्कार र आर्थिक जीवनको पहेलीमा बाँचेको समुदायसँग जोडिएर कसरी सत्कर्म गर्न सक्छ ? उनीहरुसँगसँगै भावनाको गहिरो समुदायमा कसरी सम्मिलन हुनसक्छ ? नयाँ कारिन्दालाई नौलो भूगोलमा युद्धसङ्क्रमित राजनीतिक आँधीले कसरी तारो बनाउँछ ? यी यावत प्रश्नको साहसिक उत्तर पढ्न पाइन्छ यो पुस्तकमा ।’
सुनुवार मूलतः कवि हुन् । उनी नेपाली र सुनुवार भाषामा बराबर कलम चलाउँछिन् । यसअघि उनका नेपाली भाषामा कवितासङ्ग्रह ‘परिस्थिति’, ‘अविरल’ तथा गजलसङ्ग्रह ‘सम्झनाका फूलहरु’ प्रकाशित छन् ।
त्यस्तै, सुनुवार भाषामा ‘थुँ थ्यानी सङ्ग्रह’, ‘देष् मपथु वोय’, कवितासङ्ग्रह ‘सुया’ र गजलसङ्ग्रह ‘झुल्पी फू’ प्रकाशित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।