धुलिखेत अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पतालका डा. बिनोद ढकालको पहिलो उपन्यास हो ‘बगुवा पानी’ । उपन्यासको ढकालले सडक दुर्घटनाको विषयलाई प्रस्तुत गरेका छन् ।

उपन्यासले नेपाली समाजको यर्थाथलाई जीवन्त रूपमा चित्रण गरेको छ । सामाजिक वास्तविकताको वरिपरि रहेर सडक दुर्घटनालाई केन्द्रमा राख्दै उपन्यासले विविध सामाजिक पक्षहरुको उजागर गरेको छ । मुख्य पात्र गोरेको वरिवरि उपन्यास बुनिएको छ ।

‘दिनहुँ कलङ्कीबाट धुलीखेल आउने–जाने गर्छु । अझ कोटेश्वर र सातदोबाटोको जामको कुरा गरिसाध्य छैन । घण्टौं गाडीमा बस्नुपर्ने हुन्छ । म थाकेको हुन्थेँ । अफिसको गाडीमा गोरे, इन्द्रप्रसाद, तृष्णा, रामजीतलाई सोचिरहेको हुन्थें । त्यो भाव लिएर घर गएर लेख्थें । सधैं उस्तै भाव हुन्थ्यो ।’, पुस्तकमा उपन्यासकार ढकाल लेख्छन्, ‘गोरेको कथा मैले राजमार्गमा भेटेको हुँ । बूढी स्वास्थ्य चौकीमा काम गरिरहँदा उसलाई भेट्न जाँदा चढेको मालबाहक जीपको ड्राइभर । गोरेले आफ्नो कथा सुनाएको थियो बाटोभरि । रमाइलो लाग्यो सुन्दा । छाया र गोरेको कथामा म आफूलाई पाउथें । उसको बाल्यकालमा मेरो कथा छ ।’

उपन्यासको समापनमा उपन्यासकार लेख्छन्, ‘‘भर्ना भयो । अब जाऊँ’, धीरेनले आमालाई इसारा गर्दै भन्यो । आमा छेउमा भएको भर्याङबाट विस्तारै उक्लिन लागिन् । उनका हरेक पाइलामा आज खुसीका लहर नाचेका देखिन्थे । किन नहुने त खुसी ? छोरो डाक्टरी पढ्न छात्रवृत्तिमा भर्ना भएको थियो । गोरेले देखेको सपना पूरा भएको थियो ।’

पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । २ सय २४ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ५ सय २५ रुपियाँ रहेको छ ।