नेपाली भाषाका अदिकवि भानुभक्त आचार्यको २११ जन्मजयन्तीको अवसरमा भूगोल साहित्य समाजले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम २०८१ असार २७ गते समाजको सभा हल दरबारमार्गमा सम्पन्न भएको हो ।

गजलकार रामबहादुर पहाडी प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा स्रष्टा एनबी जनकपुरी अतिथिको रूपमा रहनुभएको थियो । कार्यक्रममा आदिकवि भानुभक्तका रामायणलगायतका अँश र उनका रचनाहरू वाचन गर्नुका साथै आदिकविको जीवनका घटना, सिर्जना यात्रा र उनका योगदानका बारेमा समेत चर्चा गरिएको थियो ।

कार्यक्रममा कविहरू रामबहादुर पहाडी, एनवी जनकपुरी, दिनेश विक्रम थापा, गीता निरौला भण्डारी, मुकुन्द अर्याल, एलपी पराजुली, हरिश्चन्द्र गौतम, शैलेन्द्र कुमार शाह लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गर्नुभएको थियो भने कार्यक्रम सचिव शैलेन्द्रकुमार शाहले सञ्चालन गर्नुभएको थियो ।

२०७६ सालमा स्थापित भूगोल साहित्य समाजको साहित्यिक कार्यक्रमको यो पच्चीसौँ शृङ्खला हो ।