काठमाडौँ । मूर्धन्य इतिहासकार ज्ञानमणि नेपालको स्मृतिमा नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘इतिहास तथा वाड्मयको अनुसन्धानमा ज्ञानमणि नेपालको योगदान’ विषयक विचार-गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा उक्त शीर्षकको कार्यपत्र डा. शैलेन्दुप्रकाश नेपालले प्रस्तुत गर्नुभएको हाे ।

प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गोष्ठीको समुद्घाटन गर्नुभएको थियोे । उहाँले ज्ञानमणि नेपाल इतिहास र वाङ्मय क्षेत्रको प्रामाणिक उत्खनन् गर्ने एक विशिष्ट सर्जक भएको बताउनुभयो ।

प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले इतिहास जो सुकैले लेख्न र बुझ्न कठिन भएको बताउँदै ज्ञानमणि नेपालले इतिहासको सत्यतामा आधारित भएर गहन अनुसन्धान गर्नुभएको चर्चा गर्नुभयो ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै इतिहासको अध्ययन र अनुसन्धानका क्षेत्रमा एक प्रेरक व्यक्तिको रूपमा ज्ञानमणि नेपालले पुर्याएको योगदान उल्लेखनीय रहेको बताउँदै स्वागत मनतव्य राख्नुभएको थियो ।

गोष्ठीका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ-परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा. कौशीला रिसालले इतिहासविद् ज्ञानमणि नेपाललाई खरो र निडर व्यक्तित्वको रूपमा लिन सकिने बताउँदै उहाँले सत्य र तथ्य एवम् इतिहास र वाङ्मयका प्रामाणिक अनुसन्धाता रहेको बताउनु भएको थियो ।

गोष्ठीमा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले इतिहास लेखनमा देखिएका त्रुटिहरूलाई आधिकारिकता पुष्टि हुने खालका अनुसन्धान र प्रामाणिक स्रोतहरूको उत्खनन् गर्नमा ऐतिहासिक योगदान ज्ञानमणि नेपालको रहेको बताउनु भएको थियो ।

गोष्ठीमा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य दिनेशराज पन्तले इतिहासविद् ज्ञानमणि नेपालले स्वार्थरहित ढङ्गले सत्य र तथ्यपरक इतिहास लेखन र अनुसन्धानमा विशेष योगदान पुर्‍याउनु भएको बताउनुभएको थियो ।

गोष्ठीमा इतिहासविद् तथा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य प्राडा. त्रिरत्न मानन्धरले ज्ञानमणि नेपालले इतिहास लेखन र अनुसन्धानमा अतुलनीय योगदान गरेको बताउनुभएको थियो ।

गोष्ठीमा एकमणि नेपालले आफ्ना सहोदर दाजु ज्ञानमणिको इतिहासमा गहिरो अध्ययन रहेको बताउँदै उहाँको व्यक्तित्व र कृतित्वलाई अझै प्रकाशमा ल्याउनुपर्ने बताउनु भएको थियो ।

ग‍ोष्ठीमा सहभागीका तर्फबाट कार्यपत्रमाथि डा.गोविन्दमान सिंह कार्की र मेघराज ढकालले आआफ्नो जिज्ञासा राख्नुभएको थियो ।

उक्त गोष्ठीको सञ्चालन डा. टीपी धमलाले गर्नुभएको थियो ।

सम्प्रेषण :चेतनाथ धमला ।