वाङ्मय प्रतिष्ठान पाल्पा र चण्डी सामुदायिक पुस्तकालय तानसेन १ काे आयोजनामा ‘प्रतिभा सङ्गम’ काव्यगाेष्ठी सम्पन्न भयो । तानसेन नगरपालिका वडा नं १ का अध्यक्ष सुनील बस्यालको प्रमुख अतिथ्यतामा काव्यगोष्ठी सम्पन्न भएको हो ।
प्रमुख अतिथिका रूपमा आमन्त्रित सुनील बस्यालले कला र साहित्यकाे महिमालाई प्रकाश पार्नुभयाे । उहाँले पठन संस्कृतिकाे विकास गर्ने कुरामा नगरपालिका अगाडि बढेको बताउनु भयो । साथै, मानिस राम्रो बाेल्नका लागि पनि पढ्न आवश्यक रहेको सन्दर्भ पनि उहाँले जाेड्नुभयाे ।
धवल पुस्तकालयका अध्यक्ष युवराज पाैड्यालले पुस्तकालयकाे प्रसङ्ग उठाई वाङ्मय प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो । पठन संस्कृति हराएको वर्तमान अवस्थालाई झल्काउनुभयाे । उहाँले ‘वा बालेन !’ शीर्षकको कविता वाचन गर्नुभयो ।
डा. टंकप्रसाद पन्थद्वारा ‘सरस कविता लेख्न सकिनँ’ शीर्षकको शिखरिणी छन्दमा रचित कविता प्रस्तुत गरियो । कवितामा कवित्वगत धर्म र कलाकाे खाेजी गरिएको थियो ।
डा. शंकरप्रसाद गैरेले ‘जङ्गबहादुरहरू सिकार खेल्छन्’ शीर्षकको गद्यकविता पाठ गर्नुभयो । राजनीतिमा पर्दापछाडिबाट हुने हर्कतलाई व्यक्त गरिएको थियो उक्त कवितामा ।
साहित्यकार धातानन्द शर्मा गैरेले चण्डी पुस्तकालयकाे काव्यात्मक परिचय दिँदै ‘नेपाल भेटियोस्’ शीर्षककाे गद्यकविता प्रस्तुत गर्नुभयो ।
रामप्रसाद अर्यालले ‘शिखरकाे बलाे’ शीर्षकको अनुष्टुप छन्दकाे कविता पाठ गर्नुभयो । देशभक्तिकाे भाव उहाँको कवितामा व्यक्त भएको थियो ।
गाेविन्द नेपालले ‘एउटा मानिस’ शीर्षककाे गद्यकविता वाचन गर्नुभयो । समाजले पागल ठानेको असामान्य प्रकृतिको व्यक्तिको अवस्थालाई प्रस्तुत गरिएको थियो उक्त कवितामा । कवितामा अचेतनकाे यथार्थ कथन व्यक्त थियो ।
हरि भट्टराईले ‘तिमी’ शीर्षकको गद्यकविता पाठ गर्नुभयो । समसामयिक राजनीतिक नेतृत्वप्रतिकाे कटाक्ष व्यक्त गरिएको थियो उक्त कवितामा ।
पुरुषाेत्तम अर्यालले ‘बुढाबुढीलाई मात्र हाे यो देश ?’ शीर्षकको कविता वाचन गर्नुभयो । सन्तानले घर र देश छाडेको नियतिकाे चित्रण गरिएको थियोे कवितामा । बाँझो पल्टिएको देशको विद्रुप अवस्थाकाे प्रस्तुतिलाई पनि झल्काइएकाे थियो ।
साहित्यकार फणीन्द्र बस्यालले गीत प्रस्तुत गर्नुभयो । प्याराेडी शैलीमा वर्तमानको सत्ता परिवर्तन र चलखेललाई प्रस्तुत गरिएको थियो उक्त गीतमा ।
आरबी निश्चलले ‘मान्छेकाे रूपान्तरण’ शीर्षकको गद्यकविता प्रस्तुत गर्नुभयो । सघन र सशक्त भाव व्यक्त भएको पाइयो कवितामा ।
राेहितप्रसाद ज्ञवालीले गुलेली नामकाे काव्यका केही पंक्तिहरू वाचन गर्नुभयो । उहाँको रचनामा समसामयिक अवस्थाप्रतिकाे व्यङ्ग्यवाण प्रस्तुत भएको थियो ।
चक्रपाणि गाैतमले ‘मेराे तानसेन मेरो गह्रागाउँ’ शीर्षकको कविता प्रस्तुत गर्नुभयो । मातृभूमिकाे प्रकृति तथा सुन्दर स्थानकाे वर्णन गरिएको थियोे कवितामा ।
इन्दिरा ज्ञवालीले ‘अभिमान बढ्दै छ’ शीर्षकको छन्द कविता वाचन गर्नुभयो । मानवीय प्रवृत्तिलाई चित्रण गरिएको थियोे उक्त कवितामा ।
अमृत बस्यालले ‘सम्झना’ शीर्षकको कविता वाचन गर्नुभयो । हजुरबुबा र हजुर आमाको अवस्था अनि नियतिलाई मार्मिक रूपमा प्रकाश पारिएको थियो । ‘बा ले भारीकाे नाम्लो हाेइन जीवनलाई नाम्लोमा बाेकिरहेछन्’ आमाले घरको अभिभारा बाेकेकाे मर्मलाई प्रस्तुत गरिएको थियोे ।
जानकी अधिकारीले ‘असारे बेला’ शीर्षकको असारे भाकाकाे गीत प्रस्तुत गर्नुभयो । कृषि संस्कृति र कर्मशील जीवनलाई प्रस्तुत गरिएको थियोे उक्त गीतमा ।
गणेश नेपालीले गजल वाचन गर्नुभयो । भाेक राेग र गरिबीलाई नदेख्ने राजधानीकाे प्रवृत्तिलाई उल्लेख गरी प्रतिकूल जीवनबाेध व्यक्त थियोे गजलमा ।
कार्यक्रम गाेपालप्रसाद बस्यालकाे अध्यक्षतामा भएको हाे । प्रतिकूल माैसमकाे प्रवाह नगरी आएका अतिथि साहित्यकारहरूलाई धन्यवाद व्यक्त गर्नुभयो उहाँले । उहाँले समकालीन साहित्यकाे अवस्थालाई सङ्केत गर्नुभयो । दसैँकाे पूर्वसन्ध्यामा वाङ्मयकाे मुखपत्र ‘प्रतिभा’ पत्रिकाकाे प्रकाशन गर्ने साेच रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो । मानवीय व्यवहारमा आएको स्खलनलाई समेटिएको कविता वाचन गर्नुभयो उहाँले ।
वाङ्मय प्रतिष्ठान पूर्व महासचिव गाेविन्द भट्टराईले उपस्थित साहित्यकारहरूलाई स्वागत गरी ‘जीवन कुण्ठा’ शीर्षककाे कविता वाचन गर्नुभयो । जीवनका उल्झन र झन्झटहरूलाई प्रस्तुत गरिएको थियोे ।
चण्डी सामुदायिक पुस्तकालयका अध्यक्ष सूर्य न्याैपानेले पुस्तकालयकाे परिचय प्रस्तुत गरी उपस्थित सबैलाई स्वागत गर्नुभयो । पाल्पाको साहित्यिक याेगदानलाई अनुसन्धान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका सचिव गणेश नेपालीले गर्नुभएको थियोे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।