अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गतको भाषा साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

समितिले आगामी ३० गते शनिबार अपराह्न ४ बजे भर्चुल माध्यमबाट कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष तथा उपकुलपति एवम् नेपाली भाषा विज्ञ प्रा. डा. सुधा त्रिपाठीको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रममा आदिकवि आचार्यको सम्झनामा विभिन्न रचना वाचन समेत गरिने इन्स भाषा साहित्य समितिकी अध्यक्ष डा. जानुका पौडेलले जानकारी दिएकी छन् ।

नेपाली भाषा साहित्यमा योगदान पुर्याएका आदिकवि आचार्यको सम्मान स्वरुप कार्यक्रम गर्न लागिएको अध्यक्ष पौडेलले बताइन् ।

इन्सले गतवर्ष पनि भानु जयन्ती विशेष ढङ्गले मनाएको थियो । त्यस्तै, अन्य नेपाली भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा योगदान दिने विभिन्न अवसरहरुमा कार्यक्रम गर्दै आइरहेको र असार ३० गते हुने भानु जयन्ती पनि त्यसैको निरन्तरताका रुपमा रहेको इन्सका अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरिले बताए ।

इन्स नेपालको भाषा, संस्कृतिको उत्थानका लागि विभिन्न तवरले सक्रिय संस्था हो जसले सामाजिक क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ ।