जयराम बिडारी । नेपाली साहित्य आकाशका चम्किला ताराका रुपमा परिचित यशस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको १०४ औं जन्म जयन्तीको उपलक्षमा आख्यानकार गीता केशरीलाई सम्मानित गरिएको छ ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा संयुक्त राष्ट्र संघका प्रतिनिधि तथा पूर्व राजदुत प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सदनको प्रेक्षालयमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।
सो कार्यक्रममा अतिथि वक्ताका रुपमा डा.ज्ञानु पाण्डे तथा डा.शैलेन्दु प्रकाश नेपालले भूमिका निभाएका थिए भने प्रा.डा.रामप्रसाद ज्ञवाली प्रा.डा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’लीलाध्वज थापा साहित्य प्रतिष्ठानका सल्लाहकार अर्जुन विरक्ति ‘स्तोत्रीय’ ,सम्मानित व्यक्तित्व गीता केशरी तथा सयौं साहित्यानुरागीहरुको समुपस्थितिमा सभाध्यक्षका भूमिकामा रहेका नियात्राकार विजयध्वज थापाद्वारा लिखित नियात्राकृति ‘दशघुम्ती’ विमोचन समेत गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्यका क्रममा साहित्यकार रामप्रसाद पन्तले यशस्वी साहित्यकार लीलाध्वज थापाद्वारा सृजित ‘’म चाहन्न ऐश्वर्य केही कुराको,म चाहन्न झुटो प्रशंसा कसैको,मलाई छहारी भए पुग्छ एक,गरौं नित्य सदा साहित्यको सद्विवेक’’ कवितांश उद्धृत गर्दै पूर्वस्मृति ,शान्ति,मन उपन्यास,नाटक, कविता,दाह्री निवन्ध लेखेर नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएर चर्चाको शिखरमा पुगेका लीलाध्वज थापाको योगदानको चर्चा गरे । यसैक्रममा डा.ज्ञानु पाण्डेले मन उपन्यास लेखेर २०१४ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल यशस्वी साहित्यकार लीलाध्वज थापाका बारेमा प्रकाश पार्दै पुरातनपन्थी सोचले जकडिएको पुरुषप्रधान समाजमा आफैं भित्रको चेतना र उत्प्रेरणाले साहित्यिक क्षेत्रमा कृयाशील रहेकी आजकी सम्मानित व्यक्तित्व गीता केशरीका कृतित्व तथा व्यक्तित्वमाथि संक्षेपमा चर्चा गरेकी थिइन्।
उक्त अवसरमा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा सम्मानित व्यक्तित्व गीता केशरीलाई दोसल्ला तथा माला लगाएर एवं प्रमुख अतिथि जयराज आचार्यद्वारा २५ हज़ार नगद राशि सहित सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको थियो । सोही अवसरमा विजयध्वज थापाकृत नियात्रासङ्ग्रह ‘दशघुम्ती’ लोकार्पण गरिएको थियो । लेकार्पित कृति बारे प्रकाश पार्दै डा.शैलेन्दु प्रकाश नेपालले योग्य पिताका सुयोग्य पुत्रका रुपमा विजयध्वज थापाको नेपाली साहित्यिक क्षेत्रमा गतिशील सक्रियताको खुलेर प्रशंसा गर्दै लोकार्पित कृति दशघुम्तीको सफलताको कामना गरे । साथै यशस्वी साहित्यकार लीलाध्वज थापाको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै प्रतिष्ठानका बारेमा समेत बोलेका थिए।
उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व गीता केशरीले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट स्थापना गरिएको प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफू अत्यंत अनुगृहीत भएको बताउँदै लीलाध्वज थापा प्रति श्रद्धान्जली व्यक्त गरिन् । स्वर्गीय थापाका बारेमा आफ्नो धारणा राख्दै लीलाध्वज थापाका कृतिहरूमा नारीवादी आवाज र चेतना मुखरित हुने गरेको बताउँदै उनले नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि प्रतिष्ठानले खेलेको भूमिका तथा साहित्यिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुका साथै निरन्तर सक्रियताको कामना समेत गरिन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रा.डा.रामप्रसाद ज्ञवालीले गीत,कविता मुक्तक,नियात्रा लेखन कर्ममा सक्रियरुपमा क्रियाशील रही स्वयं पनि साहित्यकारका रुपमा छुट्टै परिचय निर्माण गरिसकेका विजयध्वज थापाले नेपाली भाषा,कला र साहित्यको क्षेत्रमा प्रदान गरेको योगदानको सराहना गरेका थिए । यसैगरि विभिन्न १५ भाषाका ज्ञाता समेत रहेका वरिष्ठ साहित्यकार अर्जुन विरक्तिले लीलाध्वज थापासंगको साहित्यिक तथा पारिवारिक सामिप्यता एवं उनका हकी र निष्पक्षता जस्ता गुणहरुका बारेमा चर्चा गर्दै प्रतिष्ठानका गतिविधि निरन्तरताको शुभकामना व्यक्त गरेका थिए ।
प्रमुख अतिथिका रुपमा बोल्दै जयराज आचार्यले लोकप्रियता ,निरन्तरता र सक्रियताका आधारमा आफ्ना सृजनात्मक कौशलले समाजलाई दिशानिर्देश गर्नका लागि समेत विशेष भूमिका खेल्न सक्छ भने त्यस्ता साहित्यकार र तीनका कृति समेत युगयुगान्तर जीवित रहने बताए । उनले आफू साहित्यिक गतिविधिमा त्यत्तिको उद्धात्त नरहेतापनि हाम्रा साहित्यिक गतिविधि तथा सृजनाले आमूल परिवर्तनका लागि समेत प्रभावकारी भूमिका खेल्नु पर्ने धारणा व्यक्त गरे । औद्योगिक क्रान्तिका समयमा च्रार्लस निगेल्सले आफ्ना रचनामा तत्कालीन समयका बालश्रम शोषणका प्रसंग उल्लेख गरेर साहित्य सृजना नगरेका भए बेलायती संसदले बालश्रम उन्मुलनका कानून निर्माण गर्दैनथ्यो होला भन्ने लख काट्दै हाम्रा साहित्यले पनि समाज परिवर्तनका लागि त्यस्तै ठोस आमूल परिवर्तनका लागि समेत भूमिका खेल्नु पर्ने धारणा व्यक्त गर्दै उनले २०१४ सालमै मदन पुरस्कारबाट पुरस्कृत कृति ‘मन’ का सर्जक लीलाध्वज थापाको योगदान नेपाली साहित्यमा विशिष्टीकृत रहने बताए ।
अन्त्यमा सभाध्यक्ष थापाले योग्य तथा अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म सतहत्तर अग्रज तथा विशिष्ट स्रष्टाहरुलाई स्रष्टा सम्मानले अनि सातजनालाई साहित्य सम्मानले तथा ४०० जनालाई कदर-पत्रले सम्मानित गर्न पाउँदा अत्यंत हर्ष लागेको बताउँदै कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएका सम्पूर्ण स्रष्टाहरुप्रति हार्दिक आभार व्यक्त गरे ।
प्रमुख अतिथि लगायत अतिथिहरुद्वारा स्वर्गीय थापाको फोटोमा माल्यार्पण तथा पुष्प गुच्छा अर्पित गरिएको उक्त कार्यक्रममा राधिका गुरागाई तथा सन्ध्या पहाडीले आ-आफ्ना रचना वाचन गरेका थिए । यादव भट्टराईद्वारा सञ्चालन गरिएको कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।