राजनसिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैँलाई नियाल्दा’ विमोचन भएको छ ।
पुस्तकको विमोचन पूर्वमन्त्री एवं सांसद शरतसिंह भण्डारी, सांसद प्रा.डा. चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं संविधानसभाका सदस्य डा. तिलक रावल, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति डा. लोक विक्रम थापा र खेम बहादुर रायमाझीले संयुक्तरूपमा गरेका हुन् ।
राष्ट्र बैंकमा २६ वर्ष काम गरेका लेखक भण्डारीले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएर बिदा लिएका थिए । त्यसपछि उनी सिटिजन्स बैंकको स्थापनामा जोडिएका थिए । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिको अध्यक्ष गरी उनले १७ वर्ष यो बैंकमा काम गरे ।
यस अवधिमा उनले देखे–भोगेका रोचक र महत्वपूर्ण घटनाक्रम पुस्तकमा समेटेका छन् । यो कृति नेपालको बैंकिङ क्षेत्रको महत्वपूर्ण कालखण्डको साक्षीले लेखेको इतिहास भएको बताइएको छ ।
प्रकाशक संस्था मिनेट मिडियाका प्रकाश रिमालले ‘आफैँलाई नियाल्दा’ आमरूपमा लेखिने आत्मकथा वा जीवनपरक ‘निबन्ध’ भन्दा फरक रहेको बताए । “यसमा लेखकले आफूलाई हिरो वा नायकका रूपमा मात्र प्रस्तुत गर्दैनन् । कमजोरीको पनि खुलेर चर्चा गर्छन्,” उनले भने, “सामान्यतः समाजमा पारिवारिक कलह ढाकछोप गर्ने गरिन्छ । तर राजनसिंह भण्डारीका हकमा यी कयौँ नियम लागु हुँदैनन् ।”
देशमा ठूलो रकमको कारोबार गर्ने उद्यमी–व्यवसायीले ऐन–मौकालाई कसरी उपयोग गर्छन्, व्यावसायिक घरानाहरूले कसरी सोच्छन् र एकअर्काप्रति केकस्ता रणनीति अपनाउँछन् भन्ने रोचक घटनाहरू पुस्तकमा रहेको उनले बताए ।
पूर्वमन्त्री शरत सिंह भण्डारीले ‘आफैँलाई नियाल्दा’लाई एक पेसाकर्मीको इमानदार अभिव्यक्तिको संज्ञा दिए । पूर्वगभर्नर डा. तिलक रावलले लेखक भण्डारीको निर्भीक स्वभाव र पेसागत दक्षता दुवै गुण पुस्तकमा अभिव्यक्त भएको बताए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।