काठमाडौँ । नेपाल स्रष्टा समाजको आयोजनामा महामनव योगमाया दिवस सम्मान अर्पण तथा स्रष्टा दर्पण ‘परशु प्रधान स्मृति अङ्क’को लोकार्पण गरी मनाइएको छ ।
मानव अधिकारवादी अगुवा डा. गौरी शंकरलाल दासको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा योगमायाको व्यक्तित्व परिचित गर्न अभियान सञ्चालन गर्ने अभियन्ता कविता चापागाईँलाई रु. ५०,१११/- नगदसहित ‘योगमाया अभियन्ता सम्मान २०८१’ ले सम्मान गरियो ।
यसैगरी, समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान गर्ने शान्ता चौधरीलाई रु. २५,१११/- सहित ‘योगमाया राष्ट्रिय नारी सम्मान २०८१’ द्वारा सम्मानित गरियो । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि, स्रष्टा समाजका अध्यक्ष, न्यौपाने समाजका अध्यक्षलगायतले सम्मान गरे ।
यसैगरी, सोही अवसरमा स्रष्टा दर्पण पूर्णाङ्क ३१, परशु प्रधान स्मृति अङ्कको लोकार्पण समेत सम्पन्न भयो । उक्त स्मृति अङ्कमा ४२ जना विभिन्न साहित्यकार, स्रष्टाहरुले विभिन्न समयमा वरिष्ठ आख्यानकार स्व. परशु प्रधानका बारेमा लेखेका संस्मरण, समीक्षा,अन्तर्वार्ता आदि संग्रहित छन् ।
प्रमुख अतिथिले कार्यक्रममा भने, ‘उतिबेलाको समाजमा परिवर्तनकारी, स्वनामधन्य योगमाया जो हुकुमी शासनको विरुद्ध लाग्नुभयो, उहाँ युगान्तकारी र अमर तपस्विनी हुनुहुन्छ । उतिवेला नारीस्वर मुखरित हुने कुरा चानचुने कुरा होइन् । योगमायाको त्यो योगदान उतिवेलाको विश्वलाई नै अद्भुत रुपमा चकित पार्ने कार्य थियो ।’
कार्यक्रममा सम्मानित चापागाईँले योगमायाको योगदानको चर्चा गर्दै नेपालको पाठ्यक्रममा उनको बारेमा भ्रम उत्पन्न हुने खालको अपूरो विषय राखिएकाले त्यसको बारेमा सोच्न जरुरी भएको बताइन् । उनले योगमायाका विवाह, बालविधवाजस्ता विषयमा पनि भ्रम छरिएको हुँदा सबैले सत्य के हो बुझ्न जरुरी हुने बताइन् ।
अर्का सम्मानित व्यक्ति चौधरीले जल समाधिका लागि आफूमात्र नभएर थुप्रै अनुयायीहरुलाई समेत उत्प्रेरित गर्न सक्ने क्षमताकी योगमायाको जन्म अहिले पनि आवश्यक भएकोमा जोड दिइन् । साथै, उनले आफूले सानै उमेरदेखि कम्लरीको रुपमा जमिन्दारको घरमा बेहोर्नुपरेको दुःख बताउँदै भावुक बनिन् । पुरस्कार कम्लरीबाट दुख पाएका महिलाहरुको निम्ति खर्चने घोषणा पनि उनले गरिन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

