विनय कुमार भण्डारीको कवितासंग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ फरक शैलीमा विमोचन भएको छ । देशका करिब दुई दर्जन स्रष्टा र समीक्षकहरूका माझमा चारवटा खाली कुर्सीमा  अज्ञात शक्तिलाई साक्षी राखेर कविता विमोचन गरिएको हो ।

विमोचनपछि पुस्तकमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा नेपाली साहित्यका अति सम्मानित व्यक्तित्व प्रा.डा.दयाराम श्रेष्ठ सम्भव, समीक्षकहरू प्रा.डा. सनतकुमार वस्ती, गोपी मैनाली, डा. देवी नेपाल, महेश पौडेलले पुस्तकलाई विभिन्न कोणबाट विश्लेषण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली साहित्यका दर्जन बढी कविहरूले ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’माथि आफ्नो धारणा राख्नुभएको थियो ।

पुस्तकमाथि फरक फरक टिप्पणी आएको थियो । यसरी टिप्पणी गर्ने कविहरूमा यसै वर्ष साहित्यपोस्ट उत्तम कृति पुरस्कार प्राप्त गर्ने देवव्रत, साहित्यपोस्ट उत्कृष्ट कवि प्रकाश रम्घाली, समकालीन पुस्ताका चर्चित कवि प्रोल्लास सिन्धुलीय, असिम सागर, विमल भौकाजी, प्रज्वल अधिकारी, तैँ तैँ धिताल आदि हुनुहुन्थ्यो ।

पुस्तकका सर्जक विनय कुमार भण्डारीले पुस्तक प्रकाशनको पृष्ठभूमि बारे लेखक–कविहरुको जिज्ञासा शान्त पार्नुभएको थियो ।

कार्यक्रमको संयोजन साहित्यपोस्टका प्रधानसम्पादक तथा उक्त कृतिका प्रकाशक अश्विनी कोइरालाले गर्नुभएको थियो ।

कार्यक्रममा कवि विनय कुमार भण्डारीका परिवारका साथमा पत्रकार केदार वाशिष्ट, अच्युत कोइराला, कृष्ण बोहोरा, चैतन्य अधिकारी, मिलन कार्की, दीपक दाहाल, सोना श्रेष्ठलगायतको उपस्थिति थियो ।