मकवानपुर हेटौंडाका कवि दीपक मुडभरी ‘मित्र’को निधन भएकाे छ । अमेरिकास्थित मेरिल्याण्डको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

वि.सं. २०१८ साल पुस ८ गते मकवानपुर जिल्लाको हेटौंडामा जन्मेका उनी कविता विधामा सक्रिय थिए । नेपालमा रहँदा उनले “अठोट” त्रैमासिक पत्रिका हेटौंडाबाट प्रकाशित गरेर धेरै साहित्यकारलाई सो पत्रिकामार्फत् प्रकाशनको मञ्च प्रदान गरेका थिए ।

अठोट पत्रिकामा राष्ट्रिय स्तरका स्थापित लेखकका रचनाका साथै र स्थानीय साहित्यकारका रचनाहरुलाई समेत प्रोत्साहन दिएका थिए । उनले “स्थानीय कविता अङ्क”का रुपमा केही अङ्क प्रकाशन गरेका थिए । उनी मकवानपुर साहित्य परिषद्का संस्थापक महासचिव थिए ।

उनको कवितासङ्ग्रह भने अमेरिका गएपछि मात्र प्रकाशन हुन सक्यो । उनको एकमात्र कविता सङ्ग्रह “केही अस्पष्ट रेखाहरु” वि.सं. २०७४ साल माघमा प्रकाशित भएको थियो ।

उनले आफ्नो कवितासङ्ग्रह प्रकाशनको सिलसिलामा नेपालमा रहँदा आफ्ना दिवंगत पितामाताको नाममा मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले व्यवस्थापन गर्ने गरी “सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार” स्थापना गरेका थिए । यो पुरस्कार वर्षेनी प्रदान गरिँदै आएको छ ।

उनलाई साहित्य संगम नुवाकोटले “संगम साहित्य पुरस्कार एवं सम्मान २०८१” प्रदान गरिएको थियो । सो सम्मान साहित्यकार एमपी पाण्डेले नुवाकोटमा ग्रहण गरेका थिए ।

उनी आफ्नो दोस्रो कवितासंग्रह “केही अतृप्त स्पर्शहरू” प्रकाशनको तयारीमा थिए ।