काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा ‘चलचित्र, साहित्य र नेपाली सन्दर्भ’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल प्रज्ञा -प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर पाठ गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । उहाँले कार्यक्रमको उद्घाटन गर्दै चलचित्र आफैँमा संवेदनशील साहित्य भएको बताउनु भयो । आफ्नो कथा आफैँ लेखन र भन्न नसक्ने व्यक्तिले चलचित्र हेरेर आफ्नो बारे बुझ्न र धारणा बनाउन सक्छन् भन्नेमा जोडदिनु भएको थियो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मनतव्यको क्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै चलचित्रसँग भाषा र प्रविधि रहेको हुँदा पाठ्य र लेखन साहित्यभन्दा दृश्य साहित्य सबैको पहुँचमा हुने धारणा राख्नु भयो । उहाँले नेपाली चलचित्रको मौलिकता र स्तरीयताबारे चनाखो हुनुपर्नेमा जोडदिनु भएको थियो ।
सुवेदीले प्रज्ञा-प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्य चलचित्र र साहित्य बारेको बहसको थालनी मात्रै भएको बताउनु भएको थियोे ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य तथा वरिष्ठ कलाकार नीर शाहले कार्यपत्रमाथि टिप्पणी गर्दै साहित्य र कलालाई हेर्ने परम्परागत दृष्टिकोण समयसापेक्ष बदलिनुपर्ने धारणासहित पटकथा चलचित्रको मुटु भएको बताउनु भयो । साहित्य, कला र प्रविधि नै चलचित्र हो भन्दै हरिश्चन्द्र नै पहिलो नेपाली चलचित्र रहेको जिकिरसहित चलचित्रले प्रष्टसँग सबै वर्गका व्यक्तिको भावनालाई स्पर्श गर्न सक्ने बताउनु भएको थियो ।
उहाँले भारतीय कलाकारहरूले अभिनय गरेका कतिपय चलचित्रमा प्रष्टसँग नेपाली उच्चारण गर्न नसकेकै कारण डबिङ भएको जस्तो भान पर्न पुगेको भन्ने धारणा राख्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालय नेपाली विभागमा प्राध्यापनरत डा. अशोक थापाले ‘चलचित्र ,साहित्य र नेपाली सन्दर्भ ‘विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले चलचित्र बेग्लै विधा भए पनि सहित्यसँग परिपूरक सम्बन्ध राख्ने भएकाले त्यसैअनुरूप सैद्धान्तिकीकरण गर्नुपर्ने बताउँदै संस्कृति निर्माण र समाज रूपान्तरणमा चलचित्र र साहित्यका अन्य विधामा अधिकांश समानताहरू पाइने बताउनु भयो ।
गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले कार्यपत्रमाथि टिप्पणी गर्दै चलचित्रको इतिहास खोतलिएको भए पनि कार्यपत्र चलचित्र साहित्यबारे प्रष्ट हुन नसकेकाे बताउनुभयो । उहाँले साहित्यिक विधामा चलचित्र बन्ने र व्यवसायिक हुने भए पनि नेपाली चलचित्रमा मौलिकतामाथि प्रश्न गर्नुपर्ने अवस्था रहेको बताउनुभएको थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै सीतादेवी ढुङ्गानाले भन्नुभयो, ‘विषयवस्तु र लेखनको तालमेल हुनुपर्छ,अलि प्रष्ट हुन सकेको छैन । चलचित्रमा पटकथा साहित्य, कला र प्राविधिक पाटोको बारेमा कार्यपत्र गहन र सार्थक ढङ्गले आउनुपर्छ ।’
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष केपी पाठकले कार्यपत्रले साहित्य र चलचित्रको सम्बन्धलाई उजागर गरेको भए पनि चलचित्र आफैँमा दृश्य साहित्य हो भन्ने मान्यता स्थापित गर्न नै यो विमर्श सुरु गरिएको बताउनु भएको थियो । उहाँले ‘एउटा उपन्यास’ले भन्दा बढी ‘एउटा चलचित्र’ले धेरै कुरा भन्न सक्ने जिकिर गर्दै समाज, संवेदनशीलता, सांस्कृतिक र समाज रूपान्तरणमा चलचित्रको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको थियो ।
सहभागीका तर्फबाट कार्यक्रममा कलाकार सुवास गजुरेल, चलचित्र पत्रकार विजयरत्न तुलाधार र नायिका विमला केसीलगायतले आआफ्नो जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका सदस्य सन्ध्या थापाले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।