डिजी शर्मा, युएई । नुवाकोटमा बसेर लामो समयदेखि साहित्य लेखन र साहित्यिक गतिविधिमा निक्कै सक्रिय हुँदै आउनु भएकी कवि/गजलकार तथा कार्यक्रम प्रस्तोता सुमित्रा सुमी साहित्यिक कार्यक्रमका लागि युएई आउने हुनु भएको छ ।

युएईमा रहेको नुवाकोट सेवा समाजले आयोजना गर्न लागेको “बृहत् साहित्यिक कार्यक्रम -२०२४” मा सहभागी हुन उहाँ यहाँ  आउन लाग्नु भएको हो । आगामी जुलाई २८ तारिख आइतबारका दिन दुबईको वरदुबईमा हुने सो कार्यक्रममा कवि/गजलकार सुमीको विशेष प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रम वरदुबई स्थित ब्लु प्यालेस रेस्टुरेन्ट, आब्रामा आइतबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म हुने आयोजक समितिले जनाएको छ । कार्यक्रममा प्रवेश नि:शुल्क रहेको छ ।

शिक्षण पेशामा आवद्ध कवि/गजलकार सुमित्रा सुमी सगरमाथा साहित्य प्रतिष्ठानकी केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले नुवाकोट एफ एम मा लामो समयदेखि साहित्यिक कार्यक्रम समेत सञ्चालन गर्दै आउनुभएको छ । साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष समेत रहनु भएकी सुमी  लेखनमा जति सक्रिय हुनुहुन्छ त्यति नै विभिन्न साहित्यिक कर्ममा पनि सक्रिय हुनुहुन्छ ।

साहित्यपोस्टसँग कुराकानी गर्दै उहाँले युएईबाट आएको यस निमन्त्रणाले  एकदमै उत्साहित  बनाएको बताउनु भयो ।

अन्तर्राष्ट्रिय भूमिमा हुने यस बृहत  साहित्यिक कार्यक्रम  एउटा स्रष्टा सर्जकको लागि अमूल्य उपहार र सद्भाव भएको उल्लेख गर्नुभयो । यसले आफ्नो लागि मात्रै नभएर सिङ्गो नेपाली भाषा साहित्यप्रति उच्च सम्मान प्रकट गरेको उहाँको भनाइ थियो । लेखेर के हुन्छ ? भनेर प्रश्न गर्नेहरुका लागि यो कार्यक्रम  एउटा  दर्बिलो जवाफ भएकोले आयोजक, सह-आयोजक तथा सहयोगी संस्था एवम्  व्यक्तिहरूप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

साहित्यपोस्ट मिडिया पार्टनरको रुपमा रहने सो बृहत् साहित्यक कार्यक्रममा युएईमा रहेर साहित्य साधना गरिरहनु भएका सर्जकहरुको पनि विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक रबिन कुमार खड्गीले जानकारी गराउनु भयो ।

आयोजक नुवाकोट सेवा समाजका उपाध्यक्ष समेत रहनु भएका संयोजक खड्गीले साहित्यपोस्टसँग कुराकानी गर्दै यस किसिमको कार्यक्रमले साहित्य सर्जकहरुमा उर्जा थप्ने विश्वास व्यक्त गर्नु भयो । समाजले यसअघि विभिन्न सामाजिक कार्य गर्दै आएको र अब  साहित्यलाई पनि अगाडि बढाउने सोचका साथ  यस कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो । लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र उनीहरुलाई प्रोत्साहन गर्न पनि यस किसिमको कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो । साथै उहाँले युएईमा रहेका अन्य जिल्लागत संस्थाहरूलाई पनि आफ्ना जिल्लाका सर्जकहरु निमन्त्रणा गरेर आगामी दिनमा यस्तै साहित्यिक कार्यक्रमहरु गर्न आग्रह पनि गर्नुभयो ।

युएईको नेपाली साहित्यिक गतिविधिमा निक्कै सक्रिय रहँदै आएको सिर्जना वाचन डबली कार्यक्रमको सह-आयोजकको रुपमा रहने छ । त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली समाज युएई र सगरमाथा साहित्य प्रतिष्ठान युएईको यसमा सहकार्य रहने छ । कार्यक्रमको मूख्य प्रायोजकमा माउन्ट एभरेस्ट ज्वलरी रहेको छ भने घान्तूत स्टार रेस्टुरेन्ट र घान्तूत नेपाली क्याफे वरदुबई प्रायोजकका रुपमा रहेका छन् । त्यसैगरी भिजा प्रायोजकको रुपमा न्यू माउन्टेन ट्राभल एन्ड टुरिजम रहेको छ ।

“हाम्रो नुवाकोट, हाम्रो शान, सहकारिता र सेवा हाम्रो अभियान” भन्ने मूल नाराका साथ सन् २०१९ मा नुवाकोट सेवा समाज, युएईको स्थापना भएको थियो ।