साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई दीपकप्रसाद गौतमकृत ‘अमर त्यागीका कवितामा वस्तु विधान’ प्राप्त भएको छ ।

लामो समय आफ्नो जन्म र कर्मभूमि कलैयामा नेपाली भाषा र साहित्यको पठन पाठन गर्दै नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने अमर त्यागी अनेक साहित्यिक विधा उपविधाका अभियन्तासमेत हुन् । केही समय काठमाडौँ र हाल अमेरिका बस्दा पनि उनको भाषा साहित्य अभियान रोकिएको छैन । त्यागीको यही जुधारुपन देखेर हुनुपर्छ, भुवानीशङ्कर बहुमुखि कलेज, चितवनका क्याम्पस प्रमुख दीपकप्रसाद गौतमले ‘अमर त्यागीका कवितामा वस्तु विधान’ विषयको अनुसन्धानात्मक पुस्तक लेखेका छन् । सोही पुस्तक साहित्यपोस्टलाई प्राप्त भएको छ ।

यो पुस्तक दुई दृष्टिकोणले महत्त्वपूर्ण छ । पहिलो, यस कृतिमा समकालीन स्रष्टा अमर त्यागीका कवितायात्रा, प्रवृत्ति र कृतिगत विश्लेषण र विवेचना गरिएको छ भने अर्कोतिर यस कृतिले वस्तुुवधानको कोणबाट कविताकृतिको विश्लेषण गर्ने आधार र नमुना प्रस्तुत गरेको छ ।

कृतिको अन्तिम पातोमा भनिएको छ, ‘समालोचना यात्रामा प्रवृत्त हुन चाहनेहरूका लागि यो पुस्तक एउटा राम्रो नमुना हुनसक्छ ।’