साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई चन्द्रागिरि नगरपालिकाका क्षेत्रभित्र रहेका सांस्कृतिक, ऐतिहासिक, साहित्यिक एवम् विविध विषयहरुलाई समेटी तयार पारिएको पुस्तक ‘चन्द्रागिरि अनुशीलन – सांस्कृतिक पक्ष’ प्राप्त भएकाे छ ।

यस पुस्तकमा पालिकाको १५ वटा वडामा रहेका विभिन्न धार्मिक, सांस्कृतिक सम्पदाहरुको खोज गरी तथ्यपरक रुपमा दस्ताबेजीकरण गरिएको छ ।

पुस्तकको प्रकाशकीयमा लेखिएको छ, ‘प्रस्तुत कृतिमा समावेश भएका सत्रवटा खोजमूलक लेख रचनाहरुले नगरपालिकामा अवस्थित आर्मिक तथा सांस्कृतिक सम्पदाहरुको सर्सर्ती जानकारी दिने प्रयास गरेका छन् । यो प्रारम्भिक चरण हो । यसबाट अन्वेषकहरुलाई अझ सत्य–तथ्यसहित गहन खोजकार्य गर्न हुटहुटी बढाउने आशा र विश्वास गरेका छौँ ।’

त्यस्तै, राष्ट्रिय सङ्ग्रहालय छाउनीका प्रमुख जयराम श्रेष्ठ लेख्छन्, ‘आफ्नो राष्ट्रिय सम्पदाप्रति समुदायिक उत्तरदायित्व बहन गराउन खातिर जनचेतना जगाउनलाई यो पुस्तक ज्यादै पठनीय छ । राष्ट्रिय संस्कृतिको जर्गेना खातिर यस्ता सम्पादहरुको संरक्षण र सम्वर्धनका निमित्त सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्नका लागि पनि यो पुस्तक पथप्रर्दशक तुल्य नै हुनेछ । यस अनुसन्धानात्मक पुस्तकले विद्वानवर्ग, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थीलगायत नेपाली इतिहास तथा संस्कृतिमा चासो राख्ने व्यक्तिहरुलाई विशेष सहयोग पुग्नेछ भन्ने आशा लिएको छु ।’

तेजप्रकाश श्रेष्ठ, भीमनारायण श्रेष्ठ र रवीन्द्र रिजालको सम्पादन रहेको पुस्तकलाई चन्द्रागिरि साहित्य समाजले प्रकाशनमा ल्याएको हो । १ सय ६४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।