साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई गजलकार लक्ष्मी निरौलाको गजलसङ्ग्रह ‘प्रेरणाको धुन’ प्राप्त भएकाे छ ।
जीवनको उषाकाल खुट्टा मेरो भाँच्चिएछ
बैसाखीको कामै छैन यात्रा गर्न कार देऊ । (पृष्ठ ५)
निरौलाका गजलहरुमा अनुभूूति र आदर्शका साथै समकालीन राजनीतिक, समाजिक विषयवस्तुलाई आफ्नो गजलको केन्द्रमा राखेका छन् ।
‘बिहानीको निम्तो गरी ताराहरु झर्न थाले,
नर्सरीमा गुलाबका बोटहरु सर्न थाले ।
साहित्यको दीप आज किन कुन्नि मधुरो भो,
मोती टिप्न डुबेका ती समुद्रमै मर्न थाले ।
अन्धकार तोडीकन रश्मि दिन तम्सिएका,
रवि पनि बादलुको घुम्टोभित्र पर्न थाले ।
सडकमा बारुदको गन्ध मात्र आयो साथी,
खुट्टाहरु खाली बनी नदी त्यसै तर्न थाले ।
खुसी बाँड्न तयार भै प्रतीक्षमा बसेको त्यो,
‘लक्ष्मी’लाई गीत आफ्नै नाकाबन्दी गर्न थाले । (पृ. ५१)
‘लक्ष्मी निरौला अनुभूति, भावना र आदर्शका गजलकार हुन् । उनको प्रेरणाको धुन गजलसङ्ग्रहका सबैजसो मूलतः समकालीन राजनीतिक, सामाजिक र प्राकृतिक परिस्थितिसँग सम्बन्धित छन् ।’, पुस्तकका बारेमा डा. बिन्दु शर्मा लेख्छिन्, ‘उनका गजलहरु विषम वातावरणमा पनि पाठकलाई एउटा सुनिश्चित दिशानिर्देह गर्न सक्षम छन् । एकआपसमा स्वतन्त्र रहेका सेरहरुबाट संरचित उनका गजलहरु विधा सिद्धान्तको सङ्कुचित घेराभन्दा माथि उठेका छन् । यस प्रकारको पृथकतामार्फत् मौलिक सिर्जनात्मक सत्ता स्थापित गर्नेतर्फ अग्रसर हुनै नै उनको विशिष्टता हो ।’
पुस्तकलाई याम्बुरी बुक प्वाइन्टले प्रकाशनमा ल्याएको हो । ७६ थान गजलहरु सङ्ग्रहित पुस्तकको मूल्य १ सय ३० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।