काठमाडाैँ । नेपाल स्रष्टा समाजले यस वर्षको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ क्रमश: दाङकी शान्ता चौधरी र विराटनगरकी कविता चापागाईंलाई प्रदान गर्ने भएको छ।

साहित्यकार पवन आलोकले स्थापना गरेको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २५ हजार १११ रुपैयाँ नगद राशिसहित सम्मान पत्र रहेको छ । वि.सं. २०६५ देखि यो सम्मानबाट हालसम्म १५ जना सम्मानित भइसकेका छन् ।

त्यस्तै, समाजसेवी राजेश न्यौपाने र केदार न्यौपानेले स्थापना गरेको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान ५० हजार एक रुपैयाँ नगद राशिसहित सम्मानपत्र रहेको छ । वि.सं.२०७५ मा स्थापना भएको यस सम्मानबाट पाँचजना सम्मानित भइसकेका छन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनका अनुसार आउँदो असार २२ गते योगमाया दिवसका दिन विशेष समारोहमार्फत यी दुवै सम्मान समर्पण गरिने छ ।