सुनसरी – पहिलो कृति उपन्यास ‘मिलिजुली’ निकालेको ६ वर्षपछि लेखिका शान्ति लिम्बू खिम्दिङ आख्यानभन्दा फरक विधाका साथ ‘कस्तुरी यात्रा’मार्फत पाठकमाझ आएकी छन् ।

बेलायतस्थित नेपाली दूतावासका द्धितीय सचिव रामबाबु नेपालले शनिबार लोकापर्ण गरेको शान्ति लिम्बू खिम्दिङको यो दोस्रो कृति कस्तुरी यात्राभित्र भने सयथान हाइकु, ३० थान मुक्तक र २० थान गीतहरुलाई समावेश गरेकी छन् ।

ललितपुरको कसुन्तीमा घर भएकी शान्तिले फानबोरोमा पान्चथर समाज सेवाको वार्षिक भेलामा याक्थुङ लिम्बु परम्परा अनुसार च्याब्रुङ बजाएर पुस्तक लोकापर्ण गर्दै आफ्नो मन मस्तिष्कको गर्भबाट यो पछिल्लो कृति जन्माएको बताइन् । शालिन लेखिकाको रुपमा परिचित शान्तिले आफ्ना सृजनामार्फत सामाजिक, पारिवारिक प्रेम, मातृवात्सल्य, मातृभूमिको याद, समसामयिक विसंगतिलाई व्यक्त गरेकी छन् ।

आधुनिक समाज र परिवारमा आएको विग्रह र विचलनका बारेमा एउटा हाइकुमार्फत व्यक्त गछिन् यसरी –

ठूलो महल

महंगा सामान छन्

खालि आँगन

बेरोजगार भएको बहानामा विदेशिनेहरुको ताँतीप्रति लक्षित गर्दै उनले अर्को हाइकुमा भनेकी छन् –

बेरोजगार

बिदेसिनेको ताँती

जमिन बाँझो

आफ्नो मातृभूमीले विकास र उन्नतिको फड्को मार्न ढिला गरेको प्रति चिन्ता गर्दै फेरि अर्को हाइकुमार्फत भन्छिन्–

तिम्रो बगैंचा

सुन्दर फूलहरु

देश फुलेन

लामो समयदेखि बेलायतलाई कर्मथलो बनाए पनि मातृभूमि नेपालको नोस्टालजियालाई मनमस्तिष्कमा सँगालेर डायस्पोरा साहित्यमार्फत आफ्नो परिचय बनाउन सफल शान्तिले व्यस्त दैनिकीबाट अलिकति उभ्रिएको समयलाई साहित्य सृजना गर्नमा सदुपयोग गर्दागर्दै ‘कस्तुरी यात्रा’लाई पुस्तकाकार दिन सफल भएको बताइन् ।

पुख्र्यौली थलो ताप्लेजुङको नाङ्खोल्याङ भएपनि झापाको महाभारा र ललितपुरको कसुन्तीमा हुर्किएकी शान्ति बेलायत प्रवासिएपछि करिव २ दशकदेखि सक्रिय लेखनमा छिन् ।

उनका हाइकु र मुक्तकमध्ये अधिकांश दार्शनिक शैलीका छन् । कस्तुरी यात्रामा समावेश गरिएका मुक्तक विद्याको एउटा मुक्तक–

फाटेको लुगा सिलाउन काफी हुन्छ एउटा सियो

अँध्यारोलाई हटाउन बाले पुग्छ एउटा दियो

टुटेको मन र छियाछिया परेको छातीलाई जोड्न त

आफैँ बन्न सक्नुपर्छ जीवनको एउटा मियो ।

यस्तै अर्को मुक्तक–

जिन्दगीलाई जतन गरी राख्नुपर्छ

सम्बन्धलाई सदैव जोगाई राख्नुपर्छ

यहाँ बनाउने भन्दा भत्काउने धेरै छन्

आफैले आफूलाई बचाई साँच्नुपर्छ ।

कृतिमा समावेश उनका गीतहरुले पनि सामाजिक, पारिवारिक प्रेमलाई नै अधिक स्थान दिएकी छन् । उनले भनिन्, ‘लाग्छ, हामी सबै एक कस्तुरी यात्रामा छौं । यो पृथ्वी स्वयम्ले पनि आफ्नै तवरले कस्तुरी यात्रा गरिरहेको छ । यस्तै यात्रा नै हो, यो ‘कस्तुरी यात्रा’ ।’

उनले  आफैँसँग भएको विनाको सुगन्धलाई पहिचान गर्न नसकेर उल्टै अन्यत्र खोज्दै यात्रामा निस्केका आफूजस्ता मान्छेकै समग्र भावना र मनोविज्ञानको दर्शनलाई समेटेर सृजना गरेका हाइकु, मुक्तक र गीतका संग्रहलाई नै कस्तुरी यात्राको संज्ञा दिएकी छन् । आगामी वर्ष पूर्वेली याक्थुङ लिम्बुको समाज, संस्कृति र परम्पराका लोक विम्ब समेटिएका कवितासंग्रह ल्याउने योजना पनि बनाइरहेको पनि बताइन् ।

ओयाम सरोकार समाज काठमाण्डौले प्रकाशन गरेको उनको यो पछिल्लो कृतिको रचनागर्भबारे भनिन्, ‘सानो छँदा म कहिले पनि उपन्यास, कविता, गीत लेख्छु जस्तो लागेको थिएन । न त सृजनाहरुलाई किताबको आकार दिन्छु भनेर सोचेको नै थिएँ । त्यही भएर पनि मैले लेखेका रचनाहरु नोटकपीहरुमै सीमित भए । पछिल्ला समयमा लेखिएका सृजना मार्फत कतै न कतै सुन्दर समाज निर्माणमा एउटा सानो इटा थप्ने कदम बन्न सक्छ भनेर यो कृति पाठकमाझ ल्याएको हो ।’