काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान्, साहित्य (अनुवाद) विभागले अनुवादक समाज नेपालसँगको सहकार्यमा ‘अनुवाद गोष्ठी’ देवकोटा सभाकक्षमा सम्पन्न गरेको छ ।
प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले गोष्ठीको ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार भएको बताए । उनले भने, ‘आफ्नै रैथाने भाषाभाषीमा पनि अनुवादको काम हुनुपर्छ । यसले लोकभाषा, साहित्य, कथन, इतिहास, संस्कृति र मौलिकतालाई बुझ्न र आत्मसात् गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’
साथै, उनले प्रज्ञा-प्रतिष्ठानबाट कतिपय प्रसिद्व पुस्तकहरू अनुवाद भइसकेका र त्यस्ता कृति थप प्रकाशित हुँदै जाने बताए ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले गोष्ठीको सभाध्यक्षता गरेकी थिइन् । उनले भाषा जान्दैमा अनुवाद गर्न नसकिने बताइन् । भनिन्, ‘यो एक प्राविधिक विधा हो । प्रज्ञा-प्रतिष्ठानले अनुवादबाट उत्पन्न हुने चुनौतीलाई क्रमश: सम्वोधन गर्ने छ । यससम्बन्धी प्रश्न र जिज्ञासाको निरुपण छलफल र विमर्शबाट हुनेछ ।’
गोष्ठीमा अनुवादक समाज नेपालका महासचिव डा. ऋषिराम अधिकारीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै अनुवाद ज्ञान, विज्ञान र प्रविधिसँग समेत जोडिएको बताए । यसले एकआपसमा भाषाको सञ्चार गर्न र लेखनमा समृद्धि ल्याउन अनुवादको महत्त्व रहेको उनको धारणा रहेको थियो ।
गोष्ठीमा डा. बलराम अधिकारीद्वारा लिखित ‘अनुवादको भाषा :सैद्धान्तिक बहस र अभ्यास’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।कार्यपत्रमा शाब्दिक तथा संरचनात्मक तहको भाषा र अनुसन्धानको ओैचित्यबारे व्याख्या गरिएको थियोे ।
गोष्ठीमा प्रस्तुत गरिएको उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै अनुवादक राजन जोशीले अनुवाद बोझिलो र भड्किलो हुन नहुने बताए । उनले भने, ‘अनुवादको भाषा सरल र बोधगम्य हुनुपर्छ । कुनै पनि स्रष्टाको अनूदित कृतिको मौलिकता र मर्म मर्नु हुँदैन ।’
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (कविता/काव्य) विभाग प्रमुख बाबा बस्नेतले लेखकभन्दा पनि अनुवादक सचेत हुनुपर्ने बताए । गुगलबाट हुने अनुवादमा मौलिकता नरहने हुनाले यसको विशिष्टतालाई जोगाउन उनले सुझाव दिए ।
गोष्ठीमा प्राज्ञसभा सदस्यद्वय धर्मेश पोखरेल र प्रकाश तिवारीले प्रस्तुत कार्यपत्रमाथि जिज्ञासा राखेका थिए ।
गोष्ठीमा सहभागीमध्येबाट रामबहादुर पहाडी, अजितमान तामाङ, डा. सोम धिमाल, ठाकुर अमगाईँ, वेदना उपाध्याय, कृष्ण अधिकारी र उमेश बस्तीलगायतले उक्त कार्यक्रममाथि आआफ्नो सुझाव र जिज्ञासा प्रकट गरेका थिए ।
गोष्ठीको सञ्चालन अनुवादक समाज नेपालका सचिव सकुनकुमार जोशीले गरेका थिए ।
सम्प्रेषण : प्राज्ञ चेतनाथ धमला



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२१ कार्तिक २०८२, शुक्रबार 









