साहित्यपोस्ट

सबै जातजातिका विद्यार्थीएले पढ्न पाउनु पर्ने माग राखेर संघर्षमा उत्रिएका विश्व हिन्दु संगठन एसिया क्षेत्र प्रमुख प्राचार्य चन्द्रकान्त पौडेलमाथि सांघातिक आक्रमण भएको छ। मुक्तिनाथ संस्कृत गुरुकुल बाग्लुङ नगरपालिका ४ कुँडुलेमा पौडेलमाथि आक्रमण भएको हो ।

उक्त आक्रमणप्रति संयुक्त दलित संघर्ष समिति बाग्लुङले विरोध जनाउनुका साथै अभियन्ता पौडेलको अभियानमा एक्यवद्धता जनाएको छ। पौडेलमाथि कथित धर्म गुरु स्वामी प्रपन्नको अगुवाइमा भएको सांघातिक हमलाको भर्त्सना गर्दै हमलामा सम्मिलित सबैलाई प्रचलित कानुनअनुसार कडा कारबाही गर्न संघर्ष समितिले सरकारसमक्ष मागसमेत गरेको छ।

संघर्ष समितिले विज्ञप्ति निकाल्दै मुक्तिनाथ संस्कृत पाठशाला बाग्लुङमा मात्र नभएर नेपालभरिका पाठशाला तथा गुरुकुलहरूमा नेपालको शिक्षा ऐनअनुसार सबै जातजाति, भाषाभाषी र समुदायको मान्छेहरूले पढ्न पाउनु पर्छ भन्ने अभियानका मुख्य अभियन्ता प्राचार्य पौडेलको जिउज्यानको सुरक्षाको समेत माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “बाग्लुङलगायत नेपालभरिका यस्ता गुरुकुलहरूमा सबै जातजातिका नागरिकलाई अध्ययन गर्ने व्यवस्था मिलाउन संघर्ष समिति माग गर्दछ ।”

यदि माग पूरा नगरिए आन्दोलन गर्ने चेतावनी दिँदै अभियान्ता पौडेलको अभियानमा साथ दिनका लागि जिल्लास्थित नागरिक समाज, मानव अधिकारवादी संघ संस्था, राजनितिक दल, जनप्रतिनिधि र पत्रकारहरूलाई संघर्ष समितिले अनुरोधसमेत गरेको छ।