‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ को अन्तिम सूचीमा पत्रकार तथा साहित्यकार गोमविक्रम क्षेत्रीको अनुसन्धानमा आधारित पुस्तक ‘मगर संस्कृति, परम्परा र गरिमा’ पर्न सफल भएको छ ।
पुस्तकमा मगर जाति, संस्कृति र यसका गौरवशाली व्यक्तिवहरुका बारेमा उल्लेख गरिएको छ ।
पुस्तकमा मगर जातिका साँस्कृतिक पक्षहरु सोरठी, घाटु, पैसेरु, मारुनी र यसको अभ्यासलगायतका कुराहरु उल्लेख छ जुन आफ्नो संस्कृति र परम्परा बुझ्न नयाँपुस्ताका लागि महत्त्वपूर्ण रहेको देखिन्छ । साथै, मगर जाति तथा समुदायको इतिहास र संस्कृति बुझ्न चाहने सबैका लागि पुस्तक पठनीय छ ।
२१६ पृष्ठमा फैलिएको पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।
पुरस्कारको अन्तिम सूचीमा जिग्मे लामाको ‘अमरभूमि’, उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’ र गोमविक्रमको ‘मगर संस्कृति, परम्परा र गरिमा’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ प्रदान गरिनेछ ।
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ का लागि ०८० सालभरि प्रकाशनमा आएका मध्ये १९ गैरआख्यानका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा १९ कृतिहरूबाट ८ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ गैरआख्यानका कृतिको ‘छोटो सूची’ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ गैरआख्यानका कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।
साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजक अश्विनी कोइरालाका अनुसार असार १५ (दही चिउरा खाने दिन) को अवसर पारेर साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । र, त्यही समारोहमा विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।
कोइरालाले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन गैरआख्यानका कृतिहरू आ-आफ्नै अलग विशेषताका साथ अब्बल छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’
दही–चिउरा खाने तथा पुरस्कार वितरण समारोह एअरपोर्टअगाडिको एपेक्स बिजनेस होटलमा असार १५ गते शनिबार ठिक २ बजेबाट सुरु हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।