‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ को अन्तिम सूचीमा अनुसन्धानकर्ता उमाकान्त पौड्यालको पहिलो पुस्तक ‘बुद्धकालीन समाजः पालि त्रिपिटकको साक्ष्यमा’ पर्न सफल भएको छ ।

अनुसन्धान विधाको पुस्तकमा लेखकले बुद्धकालीन समाजका विविध पक्षहरुको रहस्योद्घाटन गर्दै बौद्ध धर्मका परिभाषिक शब्दहरुलाई सरल र सहज भाषाशैलीमा व्याख्या गरेका छन् ।

पालि भाषामा रहेका बुद्धका वचनहरुलाई प्रमाणिक तथा विश्वसनीय मानिन्छ । बुद्धकालीन समाजको ऐनाको रुपमा रहेको यो पुस्तकमा पालि भाषामा रहेका बुद्धवचनहरुलाई सङ्कलन गरी त्यसको व्याख्या गरिएको छ । पुस्तकमा बुद्धकालीन राज्यहरु, राज्यव्यवस्था, बुद्धका धार्मिक मन्तव्य, धार्मिक सम्प्रदाय, वर्णव्यवस्था, संस्कृतिलगायत कुराहरुलाई मिहीन ढङ्गले प्रस्तुत गरिएको छ ।

३ सय १ पृष्ठमा फैलिएको यो पुस्तकलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

पुरस्कारको अन्तिम सूचीमा जिग्मे लामाको ‘अमरभूमि’, उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’ र गोमविक्रमको ‘मगर संस्कृति, परम्परा र गरिमा’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ प्रदान गरिनेछ ।

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ का लागि ०८० सालभरि प्रकाशनमा आएका मध्ये १९ गैरआख्यानका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा १९ कृतिहरूबाट ८ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ गैरआख्यानका कृतिको ‘छोटो सूची’ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ गैरआख्यानका कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।

साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजक अश्विनी कोइरालाका अनुसार असार १५ (दही चिउरा खाने दिन) को अवसर पारेर साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । र, त्यही समारोहमा विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।

कोइरालाले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन गैरआख्यानका कृतिहरू आ-आफ्नै अलग विशेषताका साथ अब्बल छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’

दही–चिउरा खाने तथा पुरस्कार वितरण समारोह एअरपोर्टअगाडिको एपेक्स बिजनेस होटलमा असार १५ गते शनिबार ठिक २ बजेबाट सुरु हुनेछ ।