प्रसिद्ध प्रगतिशील लेखक विजयकुमार सुब्बाले सिक्किमको मुख्यमन्त्रीको शपथ ग्रहण समारोहकै दिन समानान्तर रूपमा आयोजित भएको ‘कम विथ द रेन’ पुस्तक विमोचन समारोहको सन्दर्भमा ‘शपथ ग्रहणकै दिन कविताकृति लोकार्पण समारोह हाम्रो समाजको लागि एउटा असामान्य संजोग’ भनी टिप्पणी गरेको सुनिएको थियो ।

‘यो वास्तवमा एक महत्त्वपूर्ण क्षण हो – एक युवा, एक इतिहासकी विद्यार्थीले साहित्यिक क्षेत्रमा पाइला चालिरहेकी छन्।’, सम्मानित अतिथिका रूपमा बोल्दै यस कृतिको प्रकाशनमा सुब्बाले एउटा अस्वाभाविक रूपले विनम्र समाजमा व्याप्त ‘मौनता’माझ प्रतिवादको संस्कृतिको विशेषता रहेको बताउँदै ‘स्थापित नियम’बाट बाहिर एउटा साहसी पदक्षेपको प्रतिनिधित्व हुन गएको बताए।

जून १०, २०२४ को दिन सिक्किम विश्वविद्यालयको कावेरी हलमा आयोजित सिक्किम विश्वविद्यालयको इतिहास विभागकी विद्यार्थी, युवा कवि सुरक्षा तामाङको आख्यानात्मक कविताको चित्रात्मक पुस्तक ‘कम विथ द रेन’ को विमोचन समारोहको अध्यक्षता इतिहास विभाग र सामाजिक विज्ञान विभागका डिन प्रोफेसर भी. कृष्ण अनन्तले गरेका थिए।

पुस्तक विमोचन सत्रपछि  अनुभवी पत्रकार, स्तम्भकार र हालै प्रकाशित अङ्ग्रेजी कथा सङ्ग्रह ‘चेज अफ द पास्ट’का लेखक जीवन राईले आफ्नो सम्बोधनमा साहित्यिक गतिविधिहरूको महत्त्वमाथि जोड़ दिए, विशेष गरी जब पठन संस्कृतिले चुनौतीपूर्ण परिस्थितिहरूको सामना गरिरहेको छ। लेखकहरूले भोगिरहेको बौद्धिक र आर्थिक कठिनाईबारे बोल्दै उनले भने, “किताबहरू केवल अनुग्रह वा बाध्यतामा खरिद गरिन्छ। समकालीन साहित्यिक संसारमा समालोचना र रचनात्मक विकासको अभाव रहेको छ”।

समारोहमा लेखकसँग फ्रान्सिसद्वारा सञ्चालित विमर्श समेत आयोजित गरियो। त्यसपछि पुस्तक निरूपण साथै कवि र श्रोताहरूमाझ एक गहिरो छलफल भयो। कवितामा कविद्वारा सम्बोधन गरिएका सङ्कटका विषयहरूदेखि लिएर कविताकृतिमा व्यङ्ग्य गरिएको सामाजिक विडम्बनामाथि कट्टरपन्थी खेमाबाट सम्भावित रूपमा उठ्नसक्ने प्रतिक्रियालाई सामना गर्न कविद्वारा प्रयोग गरिएका रचनात्मक रणनीतिहरूसम्मका विषयहरूमाथि श्रोताहरूबाट खड़ा गरिएका चुनौतीपूर्ण प्रश्नहरूको प्रत्युत्तर कविले सबल ढङ्गमा दिइन्।

अन्त्यमा विद्यार्थी र विश्वविद्यालयका विभागीय सदस्यहरूलगायत नवोदित कविहरूका लागि खुल्ला सत्र पनि राखिएको थियो।

समारोह सिक्किमको केन्द्रीय विश्वविद्यालयको इतिहास विभाग र ‘कम विथ द रेन’ को प्रकाशक बुकआन्ट पब्लिकेसन्स, सालबारीले संयुक्त रूपमा आयोजित गरिएको थियो।