‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ को अन्तिम सूचीमा साहित्यकार भागवत खनालको कथासङ्ग्रह ‘बाबा मेरो पीआर आयो’ पर्न सफल भएको छ ।
खनालका कथाहरुमा नवीन घटनाक्रम, विविध चरित्र तथा व्यापक परिवेश भेटिन्छ । कथालाई चलचित्रझैँ पाठकको मस्तिष्कमा उतार्न सक्नु उनको लेखनको विशेषता रहेको पाइन्छ ।
उनका कथाहरु समाजिक छन्, तीनलाई नजानिँदो तवरले आउने लेखकको दार्शनिक पक्षले कथालाई परस्कृत बनाएका छन् । भाषा शैली र शिल्पी उनको शक्तिका रुपमा देखापरेका छन् ।
पुस्तकलाई विनीता खनालले प्रकाशनमा ल्याएकी हुन् । सङ्ग्रहमा २४ शीर्षकमा कथाहरु सङ्ग्रहित छन् ।
पुरस्कारको अन्तिम सूचीमा विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’, भागवत खनालको कथासङ्ग्रह ‘बाबा मेरो पीआर आयो’ र सागर खड्काको उपन्यास ‘राइपाली भञ्ज्याङ’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ प्रदान गरिनेछ ।
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ का लागि ०८० सालभरि प्रकाशनमा आएका मध्ये ३७ आख्यानका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ३७ कृतिहरूबाट १० कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ आख्यानका कृतिको ‘छोटो सूची’ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ आख्यानका कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।
साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजक अश्विनी कोइरालाका अनुसार असार १५ (दही चिउरा खाने दिन) को अवसर पारेर साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । र, त्यही समारोहमा विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।
कोइरालाले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन आख्यानका कृतिहरू आ-आफ्नै अलग विशेषताका साथ अब्बल छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’
दही–चिउरा खाने तथा पुरस्कार वितरण समारोह एअरपोर्टअगाडिको एपेक्स बिजनेस होटलमा असार १५ गते शनिबार ठिक २ बजेबाट सुरु हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।