‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ को अन्तिम सूचीमा विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ पर्न सफल भएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका विष्णु सापकोटाको उपन्यास प्रेममा आधारित छ जसमा जीवन–दर्शन तथा अध्यात्मको गहिरो प्रभाव भेटिन्छ । एक अनौठो प्रेमकथालाई सूक्ष्म रुपमा केलाइएको यो उपन्यास पढिरहँदा पाठकहरुले बौद्धिक विलासिता भरपूर गर्नेछन् ।

त्रिभुवन विश्वविद्यालयमा केही वर्ष अङ्ग्रेजी साहित्य प्राध्यापन गरेका सापकोटा हाल क्याम्बोडियामा कार्यरत् छन् । उनले लामो समयबाट समाज साहित्य तथा राजनीतिमाथि राष्ट्रिय दैनिकहरुमा निरन्तर लेख्दै पनि आएका छन् ।

३ सय ३४ पृष्ठमा फैलिएको उपन्यासलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

पुरस्कारको अन्तिम सूचीमा विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’, भागवत खनालको कथासङ्ग्रह ‘बाबा मेरो पीआर आयो’ र सागर खड्काको उपन्यास ‘राइपाली भञ्ज्याङ’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ प्रदान गरिनेछ ।

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ का लागि ०८० सालभरि प्रकाशनमा आएका मध्ये ३७ आख्यानका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ३७ कृतिहरूबाट १० कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ आख्यानका कृतिको ‘छोटो सूची’ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ आख्यानका कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।

साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजक अश्विनी कोइरालाका अनुसार असार १५ (दही चिउरा खाने दिन) को अवसर पारेर साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । र, त्यही समारोहमा विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।

कोइरालाले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन आख्यानका कृतिहरू आ-आफ्नै अलग विशेषताका साथ अब्बल छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’

दही–चिउरा खाने तथा पुरस्कार वितरण समारोह एअरपोर्टअगाडिको एपेक्स बिजनेस होटलमा असार १५ गते शनिबार ठिक २ बजेबाट सुरु हुनेछ ।