कवि विनय कुमार भण्डारीको कवितासङ्ग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ प्रकाशनमा आउने भएको छ । असार पहिलो साताबाट साहित्यपोस्टले कवितासङ्ग्रहलाई बजारमा ल्याउने भएको हो ।
सङ्ग्रहित कविताहरुमा ऐतिहासिक पात्र उभ्याएर वर्तमान समयका विविध पक्षहरुलाई भण्डारीले कहेका छन् । उनले नेपालको इतिहास र वर्तमानका महत्त्वपूर्ण पात्र राजा नरेन्द्रदेवलाई लिएर पुस्तकको शीर्षक ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ राखेका हुन् ।
अधिकांश कविताका शीर्षकहरु ५ शब्द वा ६ शब्दका छन् र अधिकांश शीर्षकहरुमा ऐतिहासिक पात्र तथा स्थानहरुको उपस्थिति रहेको छ । यसो हुनुको कारण शीर्षकीकरणमा ऐतिहासिक पात्रहरुको उपस्थिति र तिनको बिम्बात्मक चित्रण रहेको बताउछन् कवि भण्डारी ।
पुस्तकलाई साहित्यपोस्टको माउसंस्था शब्द मिडिया प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । कवितापिच्छे चित्रसहित ५१ वटा कविताहरु सङ्ग्रहित कवितासङ्ग्रहको मूल्य ५ सय रुपियाँ रहने साहित्यपोस्टले जनाएको छ ।
साहित्यपोस्ट नितान्त रुपमा नेपाली साहित्यको उत्थानमा समर्पित संस्था रहेका कारण आफ्नो पुस्तक प्रकाशनका लागि साहित्यपोस्ट नै रोजेको बताउँछन् कवि भण्डारी । भन्छन्, ‘साहित्यपोस्टले नियमित रुपमा साहित्यिक सामग्रीहरु पस्किरहेको हुन्छ । मेरो आफ्नै पनि केही कविताहरु साहित्यपोस्टमा प्रकाशन भएका छन् । यस्तो अवस्थामा आफ्नो कृति प्रकाशनको जिम्मेवारीसमेत साहित्यपोस्टलाई नै दिएको हुँ ।’
‘तिम्रो देह मेरो जन्मदिन हो’ कवितासङ्ग्रहको डिजिटल प्रकाशनबाट पुस्तक–यात्रा सुरु गरेका भण्डारीको ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ दोस्रो कवितासङ्ग्रह हो । भण्डारी अन्य अप्रकाशित कविताहरु नयाँ सङ्ग्रहका रुपमा आउने तयारीमा छन् ।