नेपाली साहित्य समाज न्युजिल्यान्डको आयोजना न्युजिल्यान्डको क्राइस्टचर्चमा सम्पन्न एक साहित्यिक कार्यक्रममा समाजका तेह्र जना आजीवन सदस्यहरूलाई सम्मान गरिएको छ ।

सम्मानित हुनुहुने आजीवन सदस्यहरूमा अशोककुमार श्रेष्ठ, घनश्याम सापकोटा, डा. ईश्वरी न्यौपाने, यशोदा मल्ल, डा. शिवप्रसाद पोखरेल, अनिल ढकाल, इन्दु काफ्ले, डा. विपुलेन्द्र अधिकारी, गंगा सापकोटा, बिमला न्यौपाने, डा. सलिना ढकाल, खिमानन्द रिजाल र साधना पौडेल हुनुहुन्थ्यो । उहाँहरूलाई समाजका अध्यक्ष डा. वीरेन्द्र केसीले आजीवन सदस्यता प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने समाजका वरिष्ठ सल्लाहकार एवम् आजीवन सदस्य डा. भोला प्रधान र उक्त साहित्यिक कार्यक्रमका संयोजक इन्दु काफ्लेले टोपी र खादा लगाइदिएर सम्मान प्रकट गर्नु भएको थियो ।

समाजले यसअघि विभिन्न मितिमा सम्पन्न साहित्यिक कार्यक्रमहरूमा एकतिस जना आजीवन सदस्यहरूलाई सम्मान प्रदान गरिसकेको छ भने दश जना आजीवन सदस्यहरूलाई आउँदा कार्यक्रमहरूमा सम्मान प्रदान गरिने छ । आजीवन सदस्यहरूले न्यजिल्यान्डमा नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्दै आएका छन् ।

समाजका अध्यक्ष डा. वीरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त समारोह सचिव इन्दु काफ्लेको संयोजनमा आयोजना गरिएको थियो । समाजका वरिष्ठ सल्लाहकार डा. भोला प्रधान र अध्यक्ष डा. वीरेन्द्र केसीले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष डा. विपुलेन्द्र अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीका अध्यक्ष प्रकाश गौतम र क्यान्टरवरी नेपालिज सोसाइटीका उपाध्यक्ष जीवन अर्यालले शुभकामना मन्तव्य दिनुभएको थियो ।

झण्डै साठी जना जति नेपाली भाषा र साहित्य प्रेमीहरूको उपस्थित रहेको सो कार्यक्रममा बिस जना स्रष्टाहरूले रचना वाचन गर्नु भएको थियो ।