‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ को अन्तिम सूचीमा कवि देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ पर्न सफल भएको छ ।
सिमान्तकृतहरुको आवाजलाई बुलन्द बनाउनु, जीवन र जगतको विचरण गर्नु तथा कवितालाई वैचारिक शिल्पीमा उतार्नु देवव्रतको खुबी हो । बिम्ब तथा प्रतिकको भरपूर प्रयोग तथा कवितामा नवीनता उनको विशेषता रहेको देखिन्छ ।
यो कवितासङ्ग्रहलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा फरक बान्कीका ३८ थान कविताहरु सङ्ग्रहित छन् ।
पुरस्कारको अन्तिम सूचीमा कवि देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, प्रकाश रम्घालीको कवितासङ्ग्रह ‘साँझको सङ्गत’ र सुशीला खड्का हसिनाको कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ प्रदान गरिनेछ ।
साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजक अश्विनी कोइरालाका अनुसार असार १५ (दही चिउरा खाने दिन) को अवसर पारेर साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । र, त्यही समारोहमा विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।
कोइरालाले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन काव्यकृतिहरू आ-आफ्नै अलग विशेषताका साथ अब्बल छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’
दही–चिउरा खाने तथा पुरस्कार वितरण समारोह एअरपोर्टअगाडिको एपेक्स बिजनेस होटलमा असार १५ गते शनिबार ठिक २ बजेबाट सुरु हुनेछ ।
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।
“यो पुरस्कारको उदेश्य नै नयाँ लेखकलाई पुरस्कृत गर्ने हो । यो सोच नै मलाई सर्वाधिक मन परेको विषय हो । नयाँ लेखकहरुको कृतिबारेमा यसरी बारम्बार चर्चा परिचर्चा हुनु र पुरस्कृत हुनुले लेखकमा थप उर्जा र जिम्मेवारी पनि बढाउँछ ।”, भौकाजी भन्नुहुन्छ, “नयाँ नयाँ खोज र नेपालीपनको उत्कृष्ट रचनाले नेपाली साहित्यको भण्डार भरियोस्, नवोदित लेखकहरूसँग यही अपेक्षाका साथ यो पुरस्कार प्रायोजन गरेको हुँ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।