बेल्जियम निवासी आख्यानकार पंचम अधिकारीको कथासंग्रह ‘प्रवासीको देश हुन्न’ प्रकाशित भएको छ।

यस कथासंग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथाहरूको सँगालो छ। युरोपको सेरोफेरोमा लेखिएका यस संग्रहका कतिपय कथाहरूमा मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना,  र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्त्वको परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्यहरू र सप्तरङ्गी समग्रताको निष्ठामा बाँच्नेहरूको कहानी छ।

अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहर, हाइस्कुले आइकन ‘लोकल हिरो’, गुन्डासँगको प्रेम र ब्रेक-अपमा ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै?’, राजा महाराजाको कथा भन्ने रखौटी ‘पिकासो केटी’, एक होनहार प्रतिभाको अन्त ‘यो बर्बादी’, प्रेममा आत्म-खोज गर्दै ‘इपीसेन्टर पालुङटार’, तिमी संबोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’, ढोँगी जीवनको मनोब्लग ‘इडियट’ लगायतका कथाहरू यस संग्रहमा समेटीएका छन्।

पारम्परिक रूपमा लेखिँदै आएका नेपाली आख्यानको प्रवृत्तिविपरित अधिकारीका कथाहरू अतियथार्थवाद र  यदाकदा जादुई यथार्थवाद एवं मेटा फिक्सनको मिश्रित प्रयोग गर्दै बोधगम्य शैलीमा लेखिएको पाइन्छ । पप-संस्कृति र मिडियाको ब्यापक प्रभावले निथ्रुक्क भिजेको समाजमा मानविय बिडम्बना र संवेदनाहरूलाई केलाउँदै कथा लेखनको नयाँ आयाम देखाउने जमर्को यस कृतिले गरेको छ।

आख्यानकार अधिकारीको यसअघि ‘पथिक प्रवासन’ उपन्यास प्रकाशित छ।

शिखा बुक्सले प्रकाशन गरेको ‘प्रवासीको देश हुन्न’ को प्रमुख वितरक ज्ञानज्योति पुस्तक पसल, अद्वैतमार्ग, काठमाडौं रहेको छ। पुस्तकको मूल्य नेपालमा ४२५ रूपियाँ र विदेशमा सात युरो वा डलर राखिएको छ।