स्याङ्जा । लेखक अञ्जना पौडेलको उपन्यास `चरिमाई´ माथि स्याङ्जामा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाको आयोजनामा शुक्रबार वालिङ-६ मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टमा कार्यक्रम गरिएको हो ।

परिचर्चा कार्यक्रममा समीक्षक शम्भु अर्याल र अनन्त अर्यालले पुस्तकको समीक्षात्मक टिप्पणी राखेका थिए । पुस्तकमा महिला बेचबिखन र महिला हिंसाका सन्दर्भलाई लेखकले गहिरिएर लेखेको वक्ताहरुले बताए ।

नेपाली समाजका कथालाई चरिमाई उपन्यासमा जोड्ने कोसिस गरेको लेखक पौडेलले बताइन् । `हाम्रो समाजमा अझैसम्म व्याप्त रहेका आमविषयवस्तु छन्, नुवाकोट र रसुवा बसाइँका क्रममा त्यहाँ देखेको तिनैलाई उपन्यासको कथा बनाएकी हुँ, पौडेलले भनिन् ।

कार्यक्रमका अतिथि चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले चरिमाईका कथाव्यथा सबैतिर भएको बताए । आफू प्रशासककारूपमा स्याङ्जाका विभिन्न गाउँठाउँ पुग्दा चरिमाईहरू यहाँ पनि रहेको उनले बताए ।

कार्यक्रमलाई मिलन समीरले सहजीकरण गरेका थिए । इन्डिगो इन्कबाट प्रकाशित पुस्तकको मूल्य ४४९ छ ।

कार्यक्रमको दोस्रो चरणमा रचनावाचन कार्यक्रम गरिएको थियो । ध्रुवप्रसाद शर्मा पंगेनी, लेखनाथ काफ्ले, शिला शाही, मञ्जुश्री अधिकारी, बोधराज न्यौपाने, सिजन अर्याल, स्मारिका अर्याल, गोपालप्रसाद न्यौपाने, विष्णु पंगेनी पाण्डे, नम्रता केसी, दर्शन पाठक, मिलन समीर र वसन्त खनालले कविता वाचन गरेका थिए ।