साहित्यकार वनमाली निराकारका दुई कृतिको परिचर्चा कार्यक्रम जेठ १९ मा धवल पुस्तकालय पाल्पामा सम्पन्न भयो ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार चोलेश्वर शर्मा हुनुहुन्थ्यो । कृतिमाथि समीक्षा गर्ने काम डा. शंकरप्रसाद गैरे र डा. टंक पन्थलाई दिइएको थियो। विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, साहित्यिक तथा शैक्षिक व्यक्तित्वहरूको सघन उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले धवल पुस्तकालयले उत्कृष्ट कृतिका रूपमा आफ्नो कृतिलाई पुरस्कृत गरेको सन्दर्भ जोडी पुस्तकालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कृतिकार वनमाली निराकारका साहित्यिक योगदानका बारेमा प्रकाश पार्नुभयो । साहित्यिक कृतिको मूल्य स्वयं कृतिमा निहित रहेको हुन्छ उहाँको कथन थियो । वनमाली निराकारको आख्यानकारिताले कवित्वलाई थिचेको मर्म उहाँले प्रस्तुत गर्नुभयो । वनमाली निराकार विद्यार्थी कालदेखि नै साहित्यिक प्रतिभा रहेको सन्दर्भ उहाँले जोड्नुभयो ।
कृतिकार वनमाली निराकारले यस क्षणमा भावुक रहेको भाव व्यक्त गर्नुभयो । धवल पुस्तकालयसँगको सम्बन्धलाई उल्लेख गरी धेरै पुस्तकहरू आफूले पढेको र कार्यसमितिको सदस्यका रूपमा पनि सेवा गरेको स्मरण गर्नुभयो ।
धवल पुस्तकालयसँग भावनात्मक सम्बन्ध रहेकोले यो कार्यक्रम गरिएको सन्दर्भ पनि उल्लेख गर्नुभयो । पाल्पाको साहित्यिक विकासमा आफ्नो पनि योगदान रहेको यथार्थ उल्लेख गर्नुभयो ।
मान्छेका रङहरू कवितासङ्ग्रहमाथि प्रकाश पार्ने काम डा. टंकप्रसाद पन्थबाट भयो । कविताको संरचना पक्ष, भावपक्ष र उद्देश्य पक्षमा प्रस्तुत गरिएको थियो । मसिना कविता, गद्य शैलीका मुक्तक कविता, हाइकु शैलीका कविता, रुवाई शैलीका मुक्तक कविता र लामा कविताका ढाँचामा प्रयोग गरिएको कुरा उल्लेख गरियो ।
डा. शंकरप्रसाद गैरेले नयाँ सालिकको जन्म कृतिमाथि प्रकाश पार्नुभयो । संक्षिप्तमा सघन विचार र झिल्को पार्न सक्ने भाषिक कलाले निराकारको लघुकथा लेखन सशक्त बनेको छ भन्ने निष्कर्ष प्रस्तुत गर्नुभयो । लघुकथाको सैद्धान्तिक सन्दर्भका साथमा कथाहरूको संरचना र मर्मलाई प्रकाश पार्नुभयो । कृतिभित्रका ३२ वटा कथाको मर्मलाई उहाँले प्रकाश पार्नुभयो।
साहित्यकार वनमाली निराकारको परिचय उठाउने काम साहित्यकार रुद्र ज्ञवालीले गर्नुभयो । वनमाली निराकार कविभन्दा कथाकार हो भन्ने कुरा रुद्र ज्ञवालीले प्रकाश पार्नुभयो । लोकतन्त्र र मानव अधिकारको पृष्ठपोषणमा उहाँको लेखन केन्द्रित रहेको कुरा उल्लेख गर्नुभयो । वनमाली निराकारसँगका अन्तरङ्गका कुराहरू व्यक्त गर्नुभयो ।
शुभकामना मन्तव्य राख्नेहरूमा रामप्रसाद अर्याल, सविता भट्टराई, विजय सागर, बुद्धिप्रसाद शर्मा, क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई हुनुहुन्थ्यो । उहाँहरूले कृतिकार वनमाली निराकारलाई बधाई तथा निरन्तर साधनाको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम धवल पुस्तकालयका अध्यक्ष युवराज शर्माको अध्यक्षतामा भएको हो । कार्यक्रममा उपस्थित व्यक्तिहरूलाई स्वागत गर्ने काम सन्तोष खनालले गर्नुभएको हो । कार्यक्रमको सञ्चालन धवल पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले गर्नुभएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।