साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई पत्रकार अमृतनाथ तिमल्सिनाको वैचारिक निबन्धहरुको सङ्ग्रह ‘समृद्धि सरोकार’ प्राप्त भएकाे छ ।
शिक्षा, सामाजिक विकास, सहकारी र राजनीतिलाई केन्द्रमा राखेर ‘विकास बहस’माथि लेखिएका आलेखहरु सङ्ग्रहमा सङ्ग्रहित छन् ।
‘०५८ सालतिरबाट पत्रकारितामा संलग्न भई विभिन्न सञ्चारमाध्यममा संलग्न भई पत्रकारिताका विविध आयाममा ओडिएका पत्रकार तिमल्सिनालगायतको समूहले ६०–६१ सालतिर आफ्नै पहलमा पत्रिका प्रकाशन सुरु गरेको देखिन्छ ।’, पुस्तकमा प्रकाशकको तर्फबाट लेखिएको छ, ‘ललितपुरका विशेष गरी विकासमा पछाडि परेका क्षेत्रका विकासे सवालहरुलाई प्रधान विषयवस्तु बनाएर सुरु भएको पत्रकारिताले विकासको बहस, वैचारिक अभियान र विकासको सन्तुलनका मुद्धाहरुमा प्रशस्तै कलम चलाएको देखिन्छ । … शिक्षा, सामाजिक विकास, सहकारी र राजनीतिका केही प्रतिनिधिमूलक आलेख, जनकेन्द्रित पहल र विकासका बहसलाई पुस्तकमार्फत उठाउने यो प्रयास समृद्धिको महामार्गमा एउटा थप इँट्टा हुनेछ ।’
पुस्तकको अन्तिम कभरपृष्ठमा लेखिएको छ, ‘ब्रह्माण्डमा ७५ प्रतिशतभन्दा बढी योगदान रहेको हाइड्रोजन अणुको रुपमा पर्याप्त भए पनि प्रशोधनको हिसाबले कठिन भएको पाइन्छ । विभिन्न रुपमा हाइड्रोजनलाई प्रयोगमा ल्याउन भने सकिन्छ । प्राकृतिक ग्यासको रुपमा भन्दा बढी हाइड्रोजनलाई शक्ति राष्ट्रहरुले सामरिक स्वार्थ र आणविक शक्तिको रुपमा प्रयोग गरिरहेका छन् । प्रशोधन, संकलन, भण्डारण र आणविक सन्धी आदिका हिसाबले कानुनी चुनौतिहरु भए पनि हिम्मत गरेर अघि बढ्ने हो भने नेपाल जस्तो देशका लागि उर्जामा दीर्घकालीन विकल्प र अक्षुण्ण स्रोतको रुपमा हाइड्रोजनलाई लिन सकिन्छ ।’
पुस्तकलाई अर्थ मिडिया ग्रुपले प्रकाशनमा ल्याएको हो । १ सय ५० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।