राधा कणेल र घनेन्द्र ओझाका गजलका साथमा संगीतकार सन्तोष श्रेष्ठको एकल गजल साँझ हुने भएको छ । आगामी जेठ १९ गते दिउँसो २ बजे कालिकास्थानस्थित सर्वनाम थिएटरलाई सन्तोषले आफ्नो स्वर र संगीतमा सजाउने भएका हुन् ।
‘गजल गायन’अन्तर्गतको प्रस्तुतिमा श्रेष्ठले गजलकार कणेल र ओझाका पाँच गजल गाउने छन् । उक्त कार्यक्रममा श्रेष्ठको एकल संगीत र ओझाको एकल रचना रहेको पहिलो बहरबद्ध श्रव्यगजल सङ्ग्रह ‘शुभेच्छा’माथि चर्चासमेत हुनेछ ।
नेपाली गजल लेखन मोतिराम भट्टबाट सुरु भएर सावा सय वर्ष नाघिसक्यो । गजलकार घनेन्द्र ओझा भन्छन्, ‘उहाँको पालामा गजलको शास्त्रीयतासँगै हामीकहाँ गजल भित्रियो । यस बिचमा लेखमा विभिन्न प्रयोगहरु भए । शास्त्रीयता छोडेर बिचमा गजललाई पुर्नजागरणको बाटोमा हिँडाइयो । फेरि, ६० को दशकमा आएर अनामण्डलीले गजललाई शास्त्रीयताको बाटोमा हिँडाउने प्रयत्न गर्यो ।’
ओझाका अनुसार, त्यतिबेलै अनामण्डलीले शास्त्रीय गायनको केही प्रयास पनि गर्यो । त्यस समयमा गुरुकुललगायत थिएटरहरुमा गजल–गायनको अभ्याससमेत गरिएको हो । पारम्परिक शास्त्रीय गजलहरु गाइए त्यतिबेला । ओझा भन्छन्, ‘यद्यपि, शास्त्रीय हिसाबले ती पूर्णतः गजल रहेनछन् । पछिल्लो समयचाहिँ गजलको लेखन शास्त्रीयको धारमा गइरहेको छ, र गायनमा पनि शास्त्रीयतालाई समाउनुपर्छ भन्ने भाव बलियो बनेर आइरहेको छ । त्यसैले पछिल्लो समय हामीले ‘गजल गायन अभियान’मार्फत् परिस्कृत शास्त्रीय गजल लेखन र गायनलाई अघि बढाउन चाहेका हौँ ।’
पूर्वीय साहित्यमा गजल लेखन र गायनको लामो परम्परा छ । तत्कालै हिन्दी तथा उर्दू गजलको स्तरमा पुग्न नसकिए पनि हिँड्दै गएपछि त्यसतर्फ अग्रसर भइने बताउछन् ओझा ।
अघिल्लो वर्ष ओझाको एक शब्द र संगीतकार सन्तोष श्रेष्ठको एकल संगीत संयोजनामा आएको शास्त्रीय श्रव्य गजलसङ्ग्रह हो ‘शुभेच्छा’ । सम्भवतः यो नेपालकै पहिलो शास्त्रीय बहरबद्ध लेखन, संगीत र गायन रहेको श्रव्य गजलसङ्ग्र हो यो । यसमा नारायण गोपाल पुस्ताका गायक ज्ञानु राणादेखि आनन्द कार्की, शिव परियार, निशा देशार, सन्तोष श्रेष्ठ हुँदै पछिल्लो पुस्ताकी अस्मिता अधिकारीसम्मले स्वर भरेका छन् ।
गायक राणाले ७५ वर्षको उमेर ‘शुभेच्छा’ श्रव्य गजलसङ्ग्रहका लागि पहिलोपटक गजल गाएकी हुन् ।
यो दशकलाई बहरबद्ध शास्त्रीय गजल लेखन र गायनको स्वर्ण दशक बनाउने अपेक्षाले आफूहरु यस अभियानमा लागेको बताउँछन् ओझा । भन्छन्, ‘अहिले यसलाई हामीले अघोषित रुपमा अगाडि बढाइरहेका छौँ, भोलिका दिनमा हामी घोषित रुपमै, संस्थागत रुपमै पनि लग्न सक्छौँ ।’
पछिल्लो समय नेपाली गजल गायन अभियानमा लागेका श्रेष्ठले गजल लेखनको व्यापकतासँगै गायनमा समेत तीव्रता आवश्यक रहेको औंल्याएका छन् ।
बहरबद्ध शास्त्रीय गजलसङ्ग्रह ‘शुभेच्छा’माथि संगीतकार राजु सिंहले समीक्षात्मक मन्तव्य दिने छन् ।
दुई दशकदेखि गजल लेखनमा सक्रिय कणेल र ओझाका गजल प्रत्यक्ष गायनमा ल्याउने काम गोल्डेन क्रिएसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले गर्न लागेको हो ।
यस गजल गायनमा नेपाल गजल प्रतिष्ठान, यशश्वी प्रज्ञा प्रतिष्ठान र कलरक्राफ्टले सहकार्य गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।