भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘राष्ट्रिय पर्याकविता प्रतियोगिता २०८१’ मा उत्कृष्ट १० कविताको घोषणा गरिएको छ ।
छनोट भएका कविताहरूमा खगेन्द्र अटलको ‘मान्छे र पृथ्वी’, परिवेश चापागाईँको ‘भेन्टिलेटरको सहर’, बुद्धिबल श्रेष्ठको ‘परलोकको बाटो’, भरत थापाको ‘इन्द्रेणी सपना’, मणिसुन्दर कोइरालाको ‘धरतीको बकपत्र’, रेणुका जिसीको ‘उभिएर आफ्नै चिहानमाथि’, समर्पण न्यौपानेको ‘अनन्त मुस्कान’, सिजन श्रेष्ठको ‘पर्वतको यात्रामा’, सुलभ अधिकारीको ‘धरती रहेसम्म’ र सुवास सिन्तानको ‘चौतारोः एक आत्मालाप’ रहेका छन् ।
निजी क्षेत्रसँगको सहकार्यमा “घुमौँ भरतपुर” मूल नाराका साथ पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले गरिएको वृहत अभियान “भरतपुर भ्रमण वर्ष २०२४”का अवसरमा ‘पर्याकविता प्रतियोगिता २०८१’ आयोजना गरिएको हो ।
यसअघि, गत वैशाख २१ गते जारी सूचनाअनुसार कविता प्रेषणका लागि जेठ ११ सम्मको सिमा तोकिएको थियो । त्यस समय अवधिमा प्रतियोगिताका लागि प्राप्त कूल २४५ कवितामध्येबाट उत्कृष्ट १० कविता छनोटमा परेका हुन् ।
आगामी जेठ १९ गते शनिबार भरतपुर २२ स्थित अम्ब्रेला स्ट्रिट पटिहानीमा उत्कृष्ट दसको कविता वाचन रहने कार्यक्रम संयोजक, कवि तथा पर्या-अभियन्ता भूपिनले जनाउनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय २० हजार, तृतीय १० हजार र सान्त्वना २ जनाले जनही ५ हजारका साथै प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।