नेपाली भाषी कवि र कविताको टेलिभिजन रियालिटि शो “The Poet Idol – Season II” का विजेता सिक्किमका कवि सिमियोन सुकिता राई भएका छन् ।

उत्कृष्ट ४ कविहरूले ग्राण्ड फिनालेमा आ-आफ्नो अन्तिम कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा जेठ १ गते देखि जेठ १२ गते साँझ ७ बजेसम्मका लागि भोटिङ् खुला गरिएको थियो ।

विजेताले कार्यक्रमको तर्फबाट रू दश लाख (१०,००,०००) पाउनुका साथै प्रकाशक कथालयका तर्फ बाट किताब प्रकाशनको सम्झौता पनि प्राप्त गरेका छन् ।

यस कार्यक्रमको Title Sponsor, Vatsalya Natural IVF हुनुका साथै, यसको Powered by Sponsor Sagarmatha Cement र Co Sponsor Joy रहेको छ भने यसलाई Z Production Hub ले निर्माण गरेको थियो ।

यस कार्यक्रममा विजेताले अन्य सहयोगी संस्था, जस्तै एभरेष्ट फिल्म एकाडेमीका तर्फ बाट १ वर्षे डिप्लोमा कोर्स निशुल्क , उत्पला हस्पिटालिटिका तर्फबाट एक लाख बराबरको गिफ्ट भाउचर र अन्य आकर्षक इनाम पनि जितेका छन् ।

प्रख्यात कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको सम्झनामा भएको यस कार्यक्रमका निर्माता/निर्देशक क्षेत्रप्रताप अधिकारीकै सुपुत्र अमनप्रताप अधिकारी हुन् । अमन प्रताप अधिकारीले विदेशी फ्रेन्चाइजका ठूला कार्यक्रमलाई नेपालमा ल्याएर निर्देशन पनि गरेका थिए । पोएट आइडल नेपाली साहित्यको क्षेत्रमा एउटा छुट्टै माहोल सहित निर्मित भएको हुँदा यस कार्यक्रमले हजारौँ दर्शकको मन जित्न सफल भएको अधिकारी बताउँछन् ।

शो हरेक हप्ताको सोमबार र मंगलबार साँझ ९ बाट हिमालय टेलिभिजनमा प्रसारण भएको थियो । यस कार्यक्रमको युट्युब प्रसारण OSR Reality बाट पनि भएको थियो । जम्मा ३१ एपिसोडको यो कार्यक्रमको पुरा एपिसोड र केही अंशहरू OSR Reality को युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ ।

माघ २९ बाट सुरूवात भएको कार्यक्रममा डिजटल अडिशनमा हजारौँको संख्याबाट फिजिकल अडिसनका लागि नेपालबाट १ सय ५० जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको सङ्ख्या १५० भन्दा बढी रहेको थियो । डिजिटल अडिसनबाट छानिएका सहभागीहरूमध्येबाट विभिन्न चरणहरू पार गर्दै १४ जना कविहरू छानिएका थिए । छानिएका कविहरू ऋषि बहादुर राई, डा. मुस्कान पोखरेल, सरला छेत्री, मोहित जोशी, कृतिका कोइराला, अनिल विद्रोही उर्फ गोर्खे चार्ली, सिमियोन सुकिता राई, विनायक पन्त, विजय लुइटेल, बुङछेङ राई ‘सेचन’, अनु शाही, विशाल नाल्बो, विपना अधिकारी र सबिना राई थिए । यी १४ जना बाहेक मुक्ता गौतमले वाइल्ड कार्ड एन्ट्री पाएकी थिइन् ।

प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री केकी अधिकारी थिए । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गरेका थिए ।

२०८० माघ २९ बाट शुरुवात भएर २०८१ जेठ १२ मा इमाडोलको एड्भान्स स्टुडियोमा सिजन – २ भव्यताका साथ सम्पन्न भएको छ । यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्ति, स्पन्सर, सहयोगी संस्थाका व्यक्तित्व, विभिन्न क्षेत्रका दर्शकको भव्य उपस्थिति पनि थियो । कार्यक्रममा कलाकार प्रदीप खड्काले कविता भन्नुका साथै आफ्नो चलचित्र “पुजार सार्की” का बारेमा पनि केही बोलेका थिए । मिडियाकर्मी नरेश भट्टराई, र कवि मुनु अधिकारीको पनि कवितात्मक प्रस्तुति थियो ।

‘द पोइट आइडल – सिजन २’को विजेता कविले दस लाख रूपियाँ नगद पाउनुका साथसाथै कथालय इन्क पब्लिसिङ्ग हाउसका तर्फबाट विजेता कविको कवितासङ्ग्रह प्रकाशन हुँदैछ । यस कार्यक्रमका दौरान विशिष्ट १४ कविहरूले विभिन्न एपिसोड र चरणमा तयार पारेको कविताको पनि प्रकाशन भएर कार्यक्रममा उक्त किताबको विमोचन भएको थियो ।