नेपाल पत्रकार महासंघ कास्कीले आफ्नै पुस्तकालय (ई–लाइब्रेरी) स्थापना गरेको छ । पुस्तकालय र स्रोत केन्द्रको नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका हुन् ।
डा. यादवले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इँटा थप्ने काम गरेको बताए । पत्रकारको पठन संस्कृतिको विकासमा पुस्तकालय र स्रोत केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
‘पुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमतामा थप टेवा पुग्ने विश्वास छ । आधुनिक तवरले निर्माण गरिएको पुस्तकालय र स्रोत केन्द्र प्रशंसा गर्न लायक बनेको छ। अब यसको सही सदुपयोगको कामना गर्दछु,’ उनले भने।
गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले पुस्तकालयले अध्ययन शैलीमा परिवर्तन ल्याउने बताए। प्रेस स्वतन्त्रतालाई आत्मसाथ गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न उनको सुझाव छ ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले केन्द्रले गर्न नसकेको काम गरेको कास्की शाखाले गरेको बताए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले ई—लाइब्रेरी निर्माणले कास्की र गण्डकी प्रदेशका पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइन् ।
गण्डकी प्रदेशको कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको ४० लाख रुपैयाँ र पोखरा महानगरपालिकाको १५ लाख रुपैयाँ आर्थिक सहयोगमा पुस्तकालय (ई—लाइब्रेरी) र स्रोत केन्द्रको स्थापना गरिएको हो ।
पुस्तकालयमा मार्टिन चौतारी, अनौपचारिक सेवा केन्द्र (ईन्सेक), प्रेस काउन्सिल नेपाल, केन्द्रीय पुस्तकालय त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) लगायतले पुस्तक सहयोग गरेका छन्। पुस्तकसँगै इन्टरनेटमा अध्ययन गर्न दुई वटा कम्पयुटरसमेत राखिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।