स्रष्टा साँझ अमेरिकाको आयोजनामा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह “खाइराइड”माथि परिचर्चा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा खाइराइडमाथि लेफराइट गर्दै विभिन्न परिचर्चाकारहरूले आफ्नो धारणा राखेका हुन् ।

हालसम्म सयभन्दा बढी पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न गरेको स्रष्टा साँझ अमेरिकाले पहिलो पटक हास्यव्यङ्ग्य कृतिको परिचर्चा गरेको हो ।

साहित्यकार विश्वराज अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै व्यङ्ग्यकार गायत्री लम्सालले भनिन्, “राजेन्द्र कार्कीको खाइराइड भनेर नचिनी खाइराइडका राजेन्द्र कार्की भनेर चिनेँ । यस्तो अवसर कमै लेखकले पाउँछन् । खाइराइडभित्रको मिठो खुराकले नै यस्तो भएको हो । खाइराइडभित्रको चार लाइनमा यसो आँखा जुध्यो भने खाइराइड लागेकालाई समेत छोड्न मन लाग्दैन भने हामी जस्ता साहित्यप्रेमीको नकुरा गरौँ । त्यसैले, कार्कीले हास्यव्यङ्ग्यमा निरन्तर कलम चलाउनु पर्छ, हामी लेखक र पाठकलाई खाइराइड जस्तै अब्बल दर्जाका कृति दिनुपर्छ ।”

परिचर्चा कार्यक्रममा साहित्यकार अनिता कोइरालाले खाइराइडभित्रका सबै निबन्ध मन परेको बताइन् । ‘कुकुरको भाग्य’ निबन्धको परिचर्चा गर्दै उनले भनिन् – “मान्छेले कुकुरबाट सिक्नु पर्ने धेरै कुरा भएको र कुकुरको पनि इज्जत भएको कुरा निबन्धले बताएको छ। पार्कमा घुम्दै गर्दा कुकुरको फोटो खिच्न नपाएको प्रसङ्गले मेरो मन चसक्क भयो ।  किनकि धनी देशका मान्छेले गरीब देशका मान्छेको फोटो खिच्न र भिडियो बनाउन पाउने कुराको लेखकको भोगाइको प्रसंगले हाँसोभित्र आँसु  पाएँ । हाँसोभित्र आँसुका प्रसङ्ग खाइराइडमा जता ततै भेटिन्छन् ।”

साहित्यकार मीनु राजभण्डारीले जिन्दगीमा खाइराइड जस्तो बेजोड र मन परेको पुस्तक नपढेको बतान् । ‘खाइराइड’, ‘कामी’, ‘कहाँ छ स्वतन्त्रता ?’, ‘त्यो नेपाली होइन’, ‘देश डुब्यो’, ‘लाहुरे’ र ‘मृत्यु विज्ञापन’ खुबै मन परेको बताइन् ।

क्यालिफोर्निया निवासी हास्यव्यङ्ग्यकार प्रमोद आमात्यले हास्यव्यङ्ग्यको लामो इतिहास भएको बताउँदै चौतारीमा बसेर छेडखान गर्ने, हाँस्ने, हसाउने चलन परापूर्वकालदेखि चलिआएको बताए । उनले भने, “कार्तिक नाच, गाइजात्र आदिको माध्यमबाट शासकलाई व्यङ्ग्य गर्ने गरिन्थ्यो । तर हसाउने मान्छेलाई जोक्करको रुपमा लिने भएर होला, यसलाई खासै महत्त्व दिएको देखिँदैन। हास्यव्यंग्य साहित्यको महत्त्व त्यसले पाउने  पुरस्कार र पाठ्य पुस्तकमा कति समावेश छ भन्ने कुराले देखाउँछ ।  तर अहिलेसम्मको रेकर्ड र इतिहास हेर्दा हास्यव्यङ्ग्य उपेक्षामा परेको देखिन्छ । खाइराइड बेजोड लाग्यो । कतै अस्लील गालीगलौज छैन।  मलाई मन पर्ने हास्यव्यङ्ग्यकार भैरव अर्याल, रामकुमार पाण्डे र लक्ष्मण गाम्नागे थिए, अब राजेन्द्र कार्की पनि थपिए ।”

साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले हास्यव्यङ्ग्य कृतिले समाजको इतिहास देखाउने बताए । उनले भने, “युवा विदेश पलायनका कुरादेखि भेडोको मासु खानु छ, फेरि भेडो भन्दै त्यही भेडोलाई गाली गर्ने मान्छेको भेडो प्रवृतिमाथि बढो मिठो तरिकाले व्यग्य कँसिएको छ । ३१ वटा निबन्धमा धेरै विषय समाज र व्यक्तिका प्रवृति्तसँग सम्बन्धित छन्।  राजनीति र अदालतका विषयमा लेखिए पनि कहीँ कतै कसैलाई गाली नगरी व्यंग्य, त्यो पनि हास्यरससहित लेख्नु कार्कीको सफलता हो ।”

क्यानाडाका साहित्यकार तथा हिउँको रापका लेखक डा. कुसुमाकर शर्माले खाइराइडमा पुरानो पुस्तादेखि जेड जेनेरशनसम्मका विषयवस्तु समेटिएको बताए । उनले भने, ‘भोजपुरको एउटा गाउँलेबाट विषयवस्तु एकै पटक इलोन मस्कमा पुग्छन् । त्यही भएर केही निबन्ध अमेरिकामा बस्नेलाई स्वाद लाग्छ भने नेपालको कुनै गाउँमा बस्ने पाठकलाई स्वाद नलाग्न सक्छ, जस्तै कुकुरको भाग्य ।”

सिस्नोपानी नेपालका अध्यक्ष तथा हास्यव्यंग्यकार लक्ष्मण गाम्नागेले कार्कीको विचार शैली गजव भएको बताए । खाइराइड ठेट पूर्वेली गाउँले र सरल भाषामा लेखिएकोले बोधगम्य भएको बताउँदै उनले भने – “खाइराइडमा काल्पनिकता छैन, कल्पनाशीलता छ । त्यसैले पुस्तकको नाम नै खाइराइड हुन पुगेको हो । पहिलो पुस्तकको रुपमा यति धेरै चर्चा बटुल्नु आफैँमा सफलता हो ।”

हास्यव्यङ्ग्य पत्रिका फित्कौलीका प्रधानसम्पादक तथा हास्यव्यंग्यकार नरनाथ लुइँटेलले “होलाई होइन र होइनलाई हो” भनेर लेख्ने शैली र ढाँचा नै हास्यव्यंग्य भएको बताउँदै खाइराइडका दशौँ समीक्षा आइसक्दा पनि हास्यव्यंग्यका उत्तर आधुनिक पक्ष ओझेलमा परेको बताए । उनले भने, “हास्यव्यंग्यको उत्तर आधुनिक पक्ष उजागर भएको पहिले कृति खाइराइड हो भन्दा फरक नपर्ला । उत्तर आधुनिक युगका मनुवाको मनोविज्ञानमा लेखिएको यस कृतिले वर्तमानका सामाजिक विकृतिमाथि हसाउँदै झापड हानेको छ ।  नेपाली हास्यव्यंग्यका नाममा राजनैतिक व्यंग्य, त्यो पनि गालीगलौजको तहमा झरिरहेको बेला खाइराइड साँच्चै गतिलो कृति निस्किएको छ । त्यही भएर नै यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा बटुलेको छ ।”

साहित्यकार तथा समालोचक खेमराज पोखरेलले धेरै हास्यव्यंग्य पढेकाले कक्षामा गुरुले पदाउदा जसरी सुनिन्थ्यो, त्यसरी नै यो कार्यक्रम सुनेको भान भएको बताए । उनले भने – “हास्यव्यंग्यमा शब्द सञ्चालन क्षमता चाहिन्छ, त्यो राजेन्द्रजीमा देखियो । निबन्धमा एउटा विषयलाई आधार बनाउनु पर्छ । विषय छिरोल्नु हुँदैन । अपवादमा बाहेक खाइराइडका निबन्धमा बिषय छिरोलिएको छैन, त्यो सबैभन्दा राम्रो पक्ष देखियो ।”

खाइराइडका लेखक कार्कीले लेखनको स्रोत, सामग्री र विषय मान्छेसँगको भेटघाट र अन्तरङ्ग वार्तालाप भएको बताए । उनले हरेक वर्ष संसारबाट क्यानाडा आएका एक हजार जनाभन्दा बढी मान्छे कामको सिलसिलामा भेट्ने गरेको बताउँदै स्रष्टा साँझा अमेरिकाले कार्यक्रममा साहित्य र हास्यव्यंग्यका महारथिलाई उपस्थित गराएर आफ्नो कृतिमाथि चर्चा गराएकोमा आफूलाई थप उर्जा मिलेको बताए ।

कार्यक्रममा उपस्थित परिचर्चाकार, कृतिकार र फेसबुकको प्रत्यक्ष प्रसारण हेरिरहनु भएका सम्पूर्णलाई स्रष्टा साँझ अमेरिकाको तर्फबाट कार्यक्रम सञ्चालक तथा साहित्यकार विश्वराज अधिकारीले धन्यवाद दिए । उनले श्रीमद्भागवतगीताको श्वलोक वाचन गर्दै कार्यक्रम टुंग्याए ।