माधव पोखरेल, सर्लाही । सर्लाही लालबन्दीस्थित जनज्योति क्याम्पसको सभाकक्षमा एक साहित्यिक समारोहको आयोजना गरी प्रगतिशील लेखक सङ्घ सर्लाही जिल्ला कार्यसमिति गठन गरिएको छ ।
प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा अतिथिहरू प्रलेस केन्द्रीय परिषद् सदस्य एवम् गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठान अध्यक्ष प्रेम घिमिरे ‘अग्निकवच’, प्रलेस मधेस प्रदेश सचिव भिमकुमार राउत, उपसचिव मिना देवकोटाको उपस्थिति रहेको थियो ।
यसैगरी, बर्दिबास साहित्यिक सास्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका केन्द्रीय सदस्य सुमित्रा आचार्य र प्रवीणता पल्लवी, सर्लाही साहित्य समाजकी उपाध्यक्ष राजेश्वरी काफ्ले, जनज्योति क्याम्पस चिफ उमेस तिमल्सिना हुनुहुन्थ्यो ।
भेलाले साहित्यिक व्यक्तित्व रूपनारायण सिंह दनुवारको अध्यक्षतामा ४ सदस्यपछि थप गर्ने गरी सात सदस्यीय समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष दीर्घकुमारी आचार्य (लुइँटेल), सचिव शुभद्रा चौलागाईँ, कोषाध्यक्ष विचारी सुनुवार र सदस्यहरू पूर्णबहादुर दुलाल, अर्जुन बिक र इर्फान अन्सारी हुनुहुन्छ ।
भेलामा नवगठित कार्यसमितिलाई शुभकामना दिँदै प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेले प्रलेसको ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै लेखकहरूको कलम बन्दुकभन्दा शक्तिशाली बन्दै आएको तथ्य प्रष्ट पार्नुभयो । त्यसैगरी, केन्द्रीय परिषद् सदस्य प्रेम घिमिरे ‘अग्निकवच’ ले प्रगतिशील लेखकहरूको कलमले विचारको सम्प्रेषण गरेर राजनीतिक परिवर्तनको पृष्ठभूमि तयार पार्ने काम गर्दै आएको चर्चा गर्दै अहिले पनि व्यवस्था मात्र परिवर्तन भएको जनताको जीवनस्तरमा कुनै परिवर्तन नआएको अवस्थामा समाजलाई समाजवादीकरणको दिशामा अग्रसर गराउन लेखकहरूले भूमिका खेल्नुपर्ने आवश्यकता रहेको प्रष्ट पार्नुभयो ।
नवगठित कार्यसमितिलाई प्रलेस मधेस प्रदेश सचिव भिमकुमार राउत र बर्दिवास साहित्यिक सास्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलले समेत शुभकामना दिनुभएको थियो ।
भीमकुमार राउतले सन्चालन गर्नुभएको भेलामा गायक एवम गीतकार सन्तोष दाहालले गीत र मिना देवकोटा, राजेश्वरी काफ्ले, प्रविणा पल्लवी, दिर्घकुमारी आचार्य, सुमित्रा आचार्यलगायतले कविता र गजल वाचन गरेर भेलाको रौनक बढाउनु भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 










