नेपालकै ज्येष्ठ र सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानले स्थापनाकालदेखि हालसम्म प्रकाशित भएका तर पुनः प्रकाशन नभएर अप्राप्य अवस्थामा रहेका करिब तीन दर्जन महत्त्वपूर्ण ग्रन्थहरूको पुनः प्रकाशन गरिरहेको छ ।

नेपाली वाङ्मयका विभिन्न विधाको खोज–अन्वेषण, गोष्ठी–सेमिनार तथा प्रकाशन लगायतका कार्यमार्फत् मुलुकको समग्र वाङ्मयको सर्वाङ्गीण विकासमा समर्पित रहेको देशकै ज्ञानको सर्वोच्च केन्द्र नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित विभिन्न विशेष महत्त्वका ग्रन्थहरूको पुनः प्रकाशन गरिरहेको हो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायका अनुसार अप्राप्य अवस्थामा रहेका नेपाल निरूपण, नेपाल माहात्म्य, नेपालमा बौद्ध धर्म, नेपाली निघण्टु, भरतमुनिको नाट्यशास्त्र, अमरकोश, विश्वसाहित्यको रूपरेखा, आइए रिचर्ड्सको साहित्यिक सिद्धान्त, एरिस्टोटल र उनको काव्यशास्त्र, कौटलीय अर्थशास्त्र, जर्ज लुकासको साहित्य सिद्धान्त, नेपाली साहित्यको इतिहास, नेपाली साहित्यकोश, पाश्चात्य काव्यसिद्धान्त, पूर्वीय काव्यसिद्धान्त, वाल्मीकि रामायणलगायतका अत्यन्त उपयोगी र ऐतिहासिक महत्त्वका तीन दर्जन पुराना ग्रन्थ (पुस्तक)हरूको मुद्रण कार्य भइरहेको छ । यसमध्ये केही ग्रन्थ प्रकाशन भइसकेका छन् भने केही चाहिँ प्रकाशनको प्रक्रियामा रहेका छन् ।