साहित्यपोस्ट

एनआरएनले नेपालको मौलिक सम्पदा संरक्षणको क्षेत्रमा योगदान गर्ने चासो देखाएको छ। संस्थाले नेपाली भाषा, साहित्य, संस्कृति तथा संरक्षण प्रवर्द्धन समितिमार्फत् एनआरएनले नेपालको मौलिक सम्पदा संरक्षणमा क्रियाशील संरक्षणविद् रबिन्द्र पुरीसँग अन्तरक्रिया गरी यस्तो चासो देखाएको हो ।

समितिको साप्ताहिक अनलाइन कार्यक्रम ‘प्रवासी प्रवाह’ को १६ औं शृंखलामा संरक्षणविद् पुरीसँग संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनको क्षेत्रमा उनले गरेको योगदान र एनआरएनले खेल्नुपर्ने भूमिकाका बारे चर्चा गरिएको थियो । १५ औं शृंखलासम्म भाषा, साहित्यमा बढी केन्द्रित रहेको प्रवासी प्रवाहको यो शृंखला सम्पदा विशेषमा केन्द्रित थियो । समितिका अध्यक्ष हिक्मत थापाका अनुसार कार्यक्रममा एनआरएनले के कसरी मातृभूमिको मौलिक सम्पदा संरक्षणमा योगदान गर्न सक्छ भन्ने बारे पुरीसँगको अन्तरक्रिया केन्द्रित थियो। पुरी विगत दुई दशकभन्दा अघिदेखि सम्पदा संरक्षणको क्षेत्रमा निरन्तर काम गर्दै आइरहेका छन् ।

रबिन्द्रको योजना छ, मुलुकका ७७ वटै जिल्लामा मौलिक सम्पदा संरक्षण गर्ने गरी एक एक वटा विद्यालय वा सामुदायिक भवन निर्माण गर्ने । यसैगरी पुरानो सहर पनौतीलाई संरक्षण सम्बर्द्धनको नमुना सहरको रूपमा विकास गर्ने । उनले आफ्ना योजनाहरू र आफूले गरेका कार्यहरूको झलकसहितको छोटो भिडियो प्रस्तुति पनि कार्यक्रममा देखाएका थिए ।

सम्पदाको विषयमा एनआरएनले गरेको यो पहिलो कार्यक्रम भएको एनआरएनका पूर्वकोषाध्यक्षसमेत रहेका एनआरएन नेपाली भाषा ,साहित्य, संस्कृति तथा संरक्षण प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

कार्यक्रम समितिकी सदस्य सचिव भगवती बस्नेत र समितिका मिडिया कोअर्डिनेटर गौतम दाहालले संयुक्त रूपमा संचालन गरेका थिए।

कार्यक्रमको भिडियो लिंक यहाँ उपलब्ध छः