‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा युवा साहित्यकार सागर खड्काको पहिलो पुस्तक उपन्यास ‘राइपाली भन्ज्याङ’ पर्न सफल भएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा आख्यान लेखेका पाँच लेखक समावेश छन् ।

उपन्यास बुद्धि र कुसुमको प्रेमकथा हो जो बालसखा हुन् । साथै, यो सैनिक बनी भरियाहरु अगाडि लगाएर गाउँ आउने सपना बोकेका बालसखाहरुको कथा पनि हो ।

उपन्यासमा प्रेम र बालइच्छा मात्रै छैन, समाज र सङ्घर्षको कथा पनि छ । अन्धविश्वास र हिँसाले पिल्सिएको समाजका कथा–व्यथा र सामाजिक असन्तुष्टिलाई बुद्धिका माध्यमबाट पाठकको हृदयसम्म पुर्याउन उपन्यासकार सफल देखिएका छन् । बाल्यकालीन स्मृति तथा बैँसालु बदामासीहरुको सुन्दर प्रस्तुतिले उपन्यास पठनीय बनेको छ ।

२ सय ७८ पृष्ठमा फैलिएको उपन्यासलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को छोटो सूचीमा विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’, भागवत खनालको कथासङ्ग्रह ‘बाबा मेरो पीआर आयो’, खेम बतासको कथासङ्ग्रह ‘बुढीपोल्ली’, प्रज्ञाको उपन्यास ‘विषाणु ऋ’ र सागर खड्काको उपन्यास ‘राइपाली भन्ज्याङ’ रहेका छन् ।

यसअघि ०८० सालमा प्रकाशित डेब्यु लेखकका साहित्यपोस्टलाई प्राप्त ३७ आख्यान कृतिहरूबाट १० कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच आख्यान कृतिको छोटो सूची तिनै १० कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।

छोटो सूचीमा रहेका डेब्यु लेखकका पाँच आख्यान विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छन् ।

मूल्याङ्कन समूहका संयोजक तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पुरस्कारको छोटो सूचीमा अटाएका कृतिले नेपाली आख्यान साहित्यको भविष्य देखाएको बताए । उनले भनेका छन्, “१० आख्यान विधाका पुस्तकको लामो सूचीबाट छानिएका ५ पुस्तकले नेपाली आख्यान साहित्यको समृद्ध भविष्यतर्फ संकेत गरेका छन् । नवोदित आख्यानकारहरूको शैली, प्रस्तुति, विचार निर्माण, चिन्तनको आयतन, विषयवस्तुप्रतिको फरक बुझाइ र दृष्टिकोण तथा साधनालाई आख्यानकृतिहरूले प्रतिनिधित्व गरेका छन् ।”

‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’को प्रायोजन साहित्यपोस्ट व्यवस्थापन समूहले आफैँ गरेको हो । पुरस्कार प्रायोजन बारे प्रधानसम्पादक कोइराला भन्छन्, ‘साहित्यपोस्ट सञ्चालनमा यसै पनि ठुलो खर्च भइरहेकाे छ । त्यसमाथि यो पुरस्कारको प्रायोजन गर्दा नवपुस्तामा उत्साह बढ्छ भने यस्तो प्रभावकारी काम गर्न चुक्नु हुन्न भन्ने अभीप्रायमा साथ यी २ पुरस्कारको प्रायोजन हाम्रो समूहले गरेको हो ।’

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूची यसअघि नै जारी गरिएको छ । गैरआख्यान पुरस्कारको छोटो सूची भने जेठ ४ गते (शुक्रबार) सार्वजनिक गरिनेछ ।

अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । तीन विधाका तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।