साहित्यपोस्ट

नेपाली भाषामाथि सरकारी निकायबाटै सुनियोजित ढङ्गले अतिक्रमण भइरहेको भन्दै वृषराज रेग्मीको संयोजकत्वमा रहेको त्रिविका नेपाली विभाग, एमफिल तहका विद्यार्थीहरुलले विज्ञप्ति जारी गर्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, “यसै सिलसिलामा अङ्ग्रेजी भाषामा मात्र राख्ने भनिएको इम्बोस्ड नम्बर प्लेटको सर्वत्र विरोध हुँदाहुँदै पनि हालसालै न्यायिक गरिमालाई नै धमिल्याउने ढङ्गले सर्वोच्च अदालतबाट इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नभई अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको फैसलाप्रति हामी खेद प्रकट गर्दै घोर निन्दा एवम् भत्र्सना गर्दछौँ ।”

“भाषा कुनै पनि जाति, समुदाय र सिङ्गो राष्ट्रको पहिचान हो । नेपालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरेको छ । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा र साझा सम्पर्क भाषा तथा भारत, भुटान र म्यान्माका केही भागमा मातृभाषाका रूपमा बोलिने भाषा हो ।” विज्ञप्तिमा नेपाली भाषाको गरिमाले प्रस्ट पार्दै भनिएको छ, “नेपाली भाषालाई विश्वभर झन्डै चार करोड मानिसहरूले मातृभाषाका रूपमा प्रयोग गर्छन् । भारत सरकारले समेत नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा सूचीकृत गरी भारतको एउटा मुख्य भाषाको मान्यता दिएको छ । यसरी नेपाली भाषा नेपालभित्र सरकारी कामकाजको भाषा तथा साझा सम्पर्क भाषाका रूपमा र नेपाल बाहिर जातीय एकताको सूत्र बनेको कुरा सर्वविदितै छ ।”

विज्ञप्तिमा सर्वोच्च अदालतजस्तो गरिमामय निकायले नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा र माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाको अपमान गरेको र अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गर्नु घोर निन्दनीय तथा आपत्तिजनको जुन कदापि मान्य नहुने बताएको छ ।

यो फैसला असंवैधानिक र राष्ट्रघाती प्रकृतिको भएकाले यसलाई तत्काल सच्याउन समेत माग गहिएको । विज्ञप्तिमा थप भनिएको छ, “हरेक राष्ट्रले आफ्नो राष्ट्रभाषालाई पहिलो प्राथमिकतामा र त्यसपछि मात्रै अन्तर्राष्ट्रिय भाषाका हिसाबले अङ्ग्रेजी भाषालाई स्थान दिने गरेको अन्तर्राष्ट्रिय अभ्यासअनुरूप हाम्रो सन्दर्भमा पनि इम्बोस्ड नम्बर प्लेटमा सुरुमा देवनागरी लिपि र त्यसपछि मात्र रोमन लिपिको प्रयोग गर्नु उपयुक्त हुन्छ । सम्बन्धित निकायले समयमै यस फैसलालाई सच्याउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

विज्ञप्तिको अन्त्यमा भनिएको छ, “मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूद्वारा सञ्चालित अभियानप्रति ऐक्यबद्धता जनाउँदै सवारीसाधनमा अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने भन्ने सर्वोच्च अदालतको फैसला तत्काल सच्याई इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य रूपमा नेपाली भाषाको प्रयोग गर्न जोडदार माग गर्दछौँ । अन्यथा हामी कडा कदम चाल्न बाध्य हुनेछौँ ।”