सिरहाको लहानमा मधेश प्रदेश अन्तर्गतका भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

जागरण नेपाल सिरहाको सहकार्य तथा मधेश प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिवार सिरहाको लहानस्थित होटल विशालको सभाकक्षमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरले भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकला गरी छ विधाको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि प्रतिष्ठानले निरन्तर कार्य अगाडि बढाएको जानकारी दिँदै यस कार्यमा सबैको साथ र सहयोगको आवश्यकता रहेको धरणा राख्नु भयो । उहाँले सरकारी नियम र खर्चमापदण्डले चाहे अनुसारको काम गर्न अपठ्यारो भए पनि आमी निर्धारित कार्यक्रमहरु अगाडि बढाउन हरसम्भव प्रयास गर्दै गरेको जानकारी गराउनु भयो ।

अन्तरसंवाद कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादवले मधेश प्रदेशमा बोलिने मातृ भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकलालाई उजागर गर्ने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागेको बताउदै मधेशका आठवटै जिल्लामा यस्ता कार्यक्रम गरेर यस विधामा देखिएका कमिकमजोरी र सुझावहरुलाई संकलन गरी सबै विधाको संरक्षण र संवर्धन गर्न प्रतिष्ठान अघि बढेको बताउनु भयो ।

प्रतिष्ठानका अर्का सदस्य प्रो.डा.देवनारायण यादवले प्रतिष्ठान निकट भविष्यमा शब्दकोष र ब्याकरणको कामको थालनी गर्न लागेको जानकारी दिनु भयो ।
जागरण नेपाल सिरहाका अध्यक्ष ज्ञानेन्द्र कुमार रायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार एवं साहित्यकार शिवकुमार साहले गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानद्वारा निर्धारित छवटै विधामा आवश्यक सुझाव दिन छवटा समूहको गठन गरी सुझाव संकलन गरिएको थियो ।