आख्यान लेखेर नेपाली साहित्यमा पदार्पण गरेका डेब्यु लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ का लागि छोटो सूची जारी गरिएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा आख्यान लेखेका पाँच लेखकका आख्यानकृतिहरू समावेश छन् ।
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को छोटो सूचीमा विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’, भागवत खनालको कथासङ्ग्रह ‘बाबा मेरो पीआर आयो’, खेम बतासको कथासङ्ग्रह ‘बुढीपोल्ली’, प्रज्ञाको उपन्यास ‘विषाणु ऋ’ र सागर खड्काको उपन्यास ‘राइपाली भन्ज्याङ’ रहेका छन् ।
यसअघि ०८० सालमा प्रकाशित डेब्यु लेखकका साहित्यपोस्टलाई प्राप्त ३७ आख्यान कृतिहरूबाट १० कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच आख्यान कृतिको छोटो सूची तिनै १० कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।
यसअघि पुरस्कारको लामो सूचीमा विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’, अनु विज्ञातिको लघुकथासङ्ग्रह ‘अक्षर रेखा’, वसन्त बायुङ राईको उपन्यास ‘कठुवा’, प्रज्ञाको उपन्यास ‘तेजस्विनी सदन’, भागवत खनालको कथासङ्ग्रह ‘बाबा मेरो पीआर आयो’, खेम बतासको कथासङ्ग्रह ‘बुढीपोल्ली’, रविन्द्र केसीको कथासङ्ग्रह ‘सम्बन्धको दोबाटो’, प्रज्ञाको उपन्यास ‘विषाणु ऋ’, सागर खड्काको उपन्यास ‘राइपाली भन्ञ्याङ’ र डा. कुसुमाकर शर्मा गौतमको लघुकथासङ्ग्रह ‘हिउँको राप’ रहेका थिए ।
छोटो सूचीमा रहेका डेब्यु लेखकका पाँच आख्यान विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छन् ।
मूल्याङ्कन समूहका संयोजक तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पुरस्कारको छोटो सूचीमा अटाएका कृतिले नेपाली आख्यान साहित्यको भविष्य देखाएको बताए । उनले भनेका छन्, “१० आख्यान विधाका पुस्तकको लामो सूचीबाट छानिएका ५ पुस्तकले नेपाली आख्यान साहित्यको समृद्ध भविष्यतर्फ संकेत गरेका छन् । नवोदित आख्यानकारहरूको शैली, प्रस्तुति, विचार निर्माण, चिन्तनको आयतन, विषयवस्तुप्रतिको फरक बुझाइ र दृष्टिकोण तथा साधनालाई आख्यानकृतिहरूले प्रतिनिधित्व गरेका छन् ।”
‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’को प्रायोजन साहित्यपोस्ट व्यवस्थापन समूहले आफैँ गरेको हो । पुरस्कार प्रायोजन बारे प्रधानसम्पादक कोइराला भन्छन्, ‘साहित्यपोस्ट सञ्चालनमा यसै पनि ठुलो खर्च भइरहेकाे छ । त्यसमाथि यो पुरस्कारको प्रायोजन गर्दा नवपुस्तामा उत्साह बढ्छ भने यस्तो प्रभावकारी काम गर्न चुक्नु हुन्न भन्ने अभीप्रायमा साथ यी २ पुरस्कारको प्रायोजन हाम्रो समूहले गरेको हो ।’
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूची यसअघि नै जारी गरिएको छ । गैरआख्यान पुरस्कारको छोटो सूची भने जेठ ४ गते (शुक्रबार) सार्वजनिक गरिनेछ ।
अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । तीन विधाका तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।
छोटो सूचीमा पर्न सफल पाँच आख्यान कृतिः
१. अडिएका पाइला – विष्णु सापकोटा
क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका विष्णु सापकोटाको पहिलो पुस्तक हो उपन्यास ‘अडिएका पाइला’ । उपन्यास प्रेममा आधारित छ जसमा जीवन–दर्शन तथा अध्यात्मको गहिरो प्रभाव भेटिन्छ । एक अनौठो प्रेमकथालाई सूक्ष्म रुपमा केलाइएको यो उपन्यास पढिरहँदा पाठकहरुले बौद्धिक विलासिता भरपूर गर्नेछन् ।
त्रिभुवन विश्वविद्यालयमा केही वर्ष अङ्ग्रेजी साहित्य प्राध्यापन गरेका सापकोटा हाल क्याम्बोडियामा कार्यरत् छन् । उनले लामो समयबाट समाज साहित्य तथा राजनीतिमाथि राष्ट्रिय दैनिकहरुमा निरन्तर लेख्दै पनि आएका छन् ।
३ सय ३४ पृष्ठमा फैलिएको उपन्यासलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
२. बाबा मेरो पीआर आयो – भागवत खनाल
साहित्यकार भागवत खनालको कथासङ्ग्रह हो ‘बाबा मेरो पीआर आयो’ । खनालका कथाहरुमा नवीन घटनाक्रम, विविध चरित्र तथा व्यापक परिवेश भेटिन्छ । कथालाई चलचित्रझैँ पाठकको मस्तिष्कमा उतार्न सक्नु उनको लेखनको विशेषता रहेको पाइन्छ ।
उनका कथाहरु समाजिक छन्, तीनलाई नजानिँदो तवरले आउने लेखकको दार्शनिक पक्षले कथालाई परस्कृत बनाएका छन् । भाषा शैली र शिल्पी उनको शक्तिका रुपमा देखापरेका छन् ।
पुस्तकलाई विनीता खनालले प्रकाशनमा ल्याएकी हुन् । सङ्ग्रहमा २४ शीर्षकमा कथाहरु सङ्ग्रहित छन् ।
३. बुढीपोल्ली – खेम बतास
कविका रुपमा परिचित खेम बतासको पहिलो कथासङ्ग्रह हो ‘बुढीपोल्ली’ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका बतास हाल प्राध्यापन पेसामा संलग्न छन् ।
जातीय विभेद, लैङ्गिक असमानता तथा समाजिक कुरीतिका चपेटामा परेका मानिसहरुको नियति कथाहरुमा प्रतिबिम्बित छन् । कर्नाली तर्न नसक्ने तर महाकाली तर्न सक्ने नेपालीहरुको जीवनव्याथालाई बतासले दर्बिलोसँग कथाहरुमा प्रस्तुत गरेका छन् । यो कथासङ्ग्रहका माध्यमबाट बतासले डोटेली मौलिक संस्कृतिलाई विसंरचना गर्ने प्रयास गरेका छन् ।
पुस्तकलाई माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा शीर्षकथासहित १२ थान कथाहरु सङ्ग्रहित छन् ।
४. विषाणु ऋ – प्रज्ञा
साहित्यकार प्रज्ञाको पहिलो उपन्यास हो ‘विषाणु ऋ’ । संस्मरणात्मक शैलीमा लेखिएको उपन्यासमा नारी मनोविज्ञान प्रस्तुत भएका छन् । म पात्रको विद्यार्थीकालीन भोगाइ, शिक्षण, प्रेम, बिछोड, मनका भावना तथा चाहनालगायत तत्त्वहरुको समीश्रण उपन्यासमा रहेको छ । साथै, अध्यात्म, मृत्यु–चिन्तन तथा नेपाली सामाजिक परिवेशको पृष्ठभूमिले उपन्यासलाई दर्बिलो बनाएको छ ।
नेपाल छँदा नेपाल कमर्श क्याम्पसमा प्राध्यापन गरेकी प्रज्ञा उच्च शिक्षाका लागि हाल अस्ट्रेलियामा छिन् ।
५. राइपाली भन्ज्याङ – सागर खड्का
युवा साहित्यकार सागर खड्काको पहिलो पुस्तक हो उपन्यास ‘राइपाली भन्ज्याङ’ । उपन्यास बुद्धि र कुसुमको प्रेमकथा हो जो बालसखा हुन् । साथै, यो सैनिक बनी भरियाहरु अगाडि लगाएर गाउँ आउने सपना बोकेका बालसखाहरुको कथा पनि हो ।
उपन्यासमा प्रेम र बालइच्छा मात्रै छैन, समाज र सङ्घर्षको कथा पनि छ । अन्धविश्वास र हिँसाले पिल्सिएको समाजका कथा–व्यथा र सामाजिक असन्तुष्टिलाई बुद्धिका माध्यमबाट पाठकको हृदयसम्म पुर्याउन उपन्यासकार सफल देखिएका छन् । बाल्यकालीन स्मृति तथा बैँसालु बदामासीहरुको सुन्दर प्रस्तुतिले उपन्यास पठनीय बनेको छ ।
२ सय ७८ पृष्ठमा फैलिएको उपन्यासलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।