काव्य लेखेर नेपाली साहित्यमा पदार्पण गरेका डेब्यु लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’का लागि छोटो सूची जारी गरिएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा काव्य लेखेका पाँच लेखक समावेश छन् ।
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूचीमा देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, मिथोचको कवितासङ्ग्रह ‘आगोको पिदार’, गगन योक्पाङ्देनको कवितासङ्ग्रह ‘केवाफुङ्को गीत’, सुशीला खड्का ‘हसिना’को कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’ र प्रकाश रम्घालीको कवितासङ्ग्रह ‘साँझको सङ्गत’ रहेका छन् ।
यसअघि ०८० सालमा प्रकाशित डेब्यु लेखकका साहित्यपोस्टलाई प्राप्त २८ काव्य कृतिहरूबाट ११ कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच काव्य कृतिको छोटो सूची तिनै ११ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।
यसअघि पुरस्कारको लामो सूचीमा सुषमा आचार्य ‘अंशु’काे कवितासङ्ग्रह ‘अक्षरको आयतन’, देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, मिथोचको कवितासङ्ग्रह ‘आगोको पिदार’, बाबुराम भुसालको कवितासङ्ग्रह ‘अभ्यास काव्ययात्रा’, गगन याेक्पाङ्देनको कवितासङ्ग्रह ‘केवाफुङको गीत’, अमर आकाशको कवितासङ्ग्रह ‘टुङ्गना’, सुशीला खड्का हसिनाको कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’, जानुका गुरागाईँको गजलसङ्ग्रह ‘परिवेशको सुसेली’, सुरेश राईको कवितासङ्ग्रह ‘सम्झनाको फोटोकपी’, विजय लुइटेलको कवितासङ्ग्रह ‘समयका खुकुला चप्पल’ र प्रकाश रम्घालीको कवितासङ्ग्रह ‘साँझकाे सङ्गत’ रहेका थिए ।
छोटो सूचीमा रहेका डेब्यु लेखकका पाँच काव्य विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छन् ।
मूल्याङ्कन समूहका संयोजक तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पुरस्कारको छोटो सूचीमा अटाएका कृतिले नेपाली काव्य साहित्यको भविष्य उज्यालो रहेको संकेत गरेको बताएका छन् । उनले भनेका छन्, “११ काव्य विधाका पुस्तकको लामो सूचीबाट छानिएका ५ पुस्तकले नेपाली काव्य साहित्यमा दर्बिलो उपस्थिति जनाएका छन् । नवोदित कविहरूको विचार निर्माण, चिन्तनको आयतन, विषयवस्तुप्रतिको फरक बुझाइ र दृष्टिकोण तथा साधनालाई काव्यकृतिले प्रतिनिधित्व गरेका छन् ।”
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।
“यो पुरस्कारको उदेश्य नै नयाँ लेखकलाई पुरस्कृत गर्ने हो । यो सोच नै मलाई सर्वाधिक मन परेको विषय हो । नयाँ लेखकहरुको कृतिबारेमा यसरी बारम्बार चर्चा परिचर्चा हुनु र पुरस्कृत हुनुले लेखकमा थप उर्जा र जिम्मेवारी पनि बढाउँछ ।”, भौकाजी भन्नुहुन्छ, “नयाँ नयाँ खोज र नेपालीपनको उत्कृष्ट रचनाले नेपाली साहित्यको भण्डार भरियोस्, नवोदित लेखकहरूसँग यही अपेक्षाका साथ यो पुरस्कार प्रायोजन गरेको हुँ ।”
‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’का छोटो सूची क्रमशः जेठ २ गते (बुधबार) र जेठ ४ गते (शुक्रबार) सार्वजनिक गरिनेछ ।
अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । तीन विधाका तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।
छोटो सूचीमा पर्न सफल पाँच पुस्तकः
१. अश्वत्थामाको निधारबाट बागमती बग्छ – देवव्रत
पछिल्लो समयका सशक्त युवा कवि देवव्रतको कवितासङ्ग्रह हो ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ । सिमान्तकृतहरुको आवाजलाई बुलन्द बनाउनु, जीवन र जगतको विचरण गर्नु तथा कवितालाई वैचारिक शिल्पीमा उतार्नु देवव्रतको खुबी हो । बिम्ब तथा प्रतिकको भरपूर प्रयोग तथा कवितामा नवीनता उनको विशेषता रहेको देखिन्छ ।
यो कवितासङ्ग्रहलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा फरक बान्कीका ३८ थान कविताहरु सङ्ग्रहित छन् ।
२. आगोको पिदार – मिथोच
युवाकवि मिथोचको नवीनतम कवितासङ्ग्रह हो ‘आगोको पिदार’ । मिथोचले समाजिक विसङ्गती तथा विभेदप्रति सालीन तर सशक्त विद्रोह गरेका छन् । कवितामा संस्कृति, मिथक र इतिहासको सशक्त प्रयोग उनको विशेषताको रुपमा देख्न सकिन्छ । नवीन र मौलिक भाषा–शैली र प्रस्तुतिमा सूत्रबद्धताले उनका कवितालाई सशक्त बनाएका छन् ।
४१ शीर्षकमा कविताहरु सङ्ग्रहित यो पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो ।
३. केवाफुङ्को गीत – गगन योक्पाङ्देन
द पोएट आइड’को पहिलो संस्करणमा सहभागिता जनाउँदै चर्चामा आएका कवि गगन योक्पाङ्देनको कवितासङ्ग्रह हो ‘केवाफुङ्को गीत’ । योक्पाङ्देनले सुन्दर भाषा–शैली तथा प्रभावशाली प्रस्तुतिका माध्यमबाट पोएट आइडलबाटै आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । त्यही पहिचानलाई अघि बढाउँदै सरल भाषामा आध्यात्मिक र दार्शनिक पक्षलाई जोड दिँदै उनको यो कवितासङ्ग्रह प्रकाशनमा आएको छ ।
पुस्तकलाई माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा ३८ थान कविताहरु सङ्ग्रहित छन् ।
४. पहिरोभित्रको घाम – सुशीला खड्का ‘हसिना’
कवि सुशीला खड्का ‘हसिना’को नवीनतम काव्यकृति हो ‘पहिरोभित्रको घाम’ । वर्तमान समाजमा व्याप्त दूषित मानसिकता तथा मानिसले मानिससँगै गर्ने अमानवीय व्यवहारलाई सुशीलाले आफ्नो कविताको विषय बनाएकी छिन् । विविध किसिमका समाजिक दृव्र्यवहार, मानिसका द्वैद चरित्र तथा सामाजिक विसङ्गतीको चित्रण हसिनाका कविताका विशेषताका रुपमा देखिएका छन् ।
पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा ५५ थान कविताहरु सङ्ग्रहित छन् ।
५. साँझको सङ्गत – प्रकाश रम्घाली
पछिल्लो समयका प्रभावशाली कवि प्रकाश रम्घालीको कवितासङ्ग्रह हो ‘साँझको सङ्गत’ । रम्घालीले कवितामार्फत आफूले बाँचेको समयको विशिष्ट अनुभवलाई काव्यिक तवरमा लयबद्ध गरेका छन् । जीवनको महत्त्वपूर्ण समय सैनिक सेवारमा रहेका उनका कवितामा युद्ध र द्वन्द्वभन्दा बढी मानवीय संवेदनाको गहिराइ पाइन्छ । फौजीका जटिल अनुभूतिलाई समेत उनले नौलो आयामहरुका साथ कवितामा पस्केका छन् ।
पुस्तकलाई ईटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा छोटा आयतनका ४४ शीर्षकमा कविताहरु सङ्ग्रहित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।