तरङ्ग साहित्य सङ्गमको आयोजनामा आज पाल्पामा भव्य समारोहका बिच साहित्यकार रामप्रसाद अर्यालको ‘घुस्सा’ हास्यव्यङ्ग निबन्धसङ्ग्रह र प्रा.डा. कपिल लामिछानेको ‘राराको डिलमा’ नियात्रासङ्ग्रहको विमोचन भयो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा साहित्यकार तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो । राष्ट्रगानसँगै कार्यक्रमको आरम्भ गरिएको हो । यसपछि प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गरियो । प्रमुख अतिथि तथा अन्य अतिथिद्वारा क्रमशः ‘घुस्सा’ र ‘राराको डिलमा’ कृतिको लोकार्पण गर्ने काम भयो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फोटोग्राफी र साहित्यमा फरक रहेको सन्दर्भ उल्लेख गर्नुभयो । स्रष्टाले समाजको चित्रण मात्र नगरीकन पुनर्सिर्जना पनि गर्छ भन्ने मान्यता उहाँको छ । असतबाट सत्यतिरको अनवरत यात्रा नै मानव सभ्यता हो । यस क्रममा स्रष्टाहरूले सकारात्मक हस्तक्षेप गर्दै आएको सकारात्मक सन्दर्भ पनि उहाँले उल्लेख गर्नुभयो । कपिल लामिछाने र रामप्रसाद अर्याल उद्देश्यमूलक ढंगले सिर्जनामा लाग्ने स्रष्टाहरू रहेको यथार्थलाई पनि उल्लेख गर्नुभयो । ”कपिल लामिछानेले नियात्राका माध्यमबाट पाठकलाई सँगै हिँडाउने काम गर्नुभएको छ । हामी घुमिरहेका हुन्छौँ तर लेख्ने सामर्थ्य सबैमा हुँदो रहेनछ” उहाँले भन्नुभयो ।
व्यङ्ग्यकार रामप्रसाद अर्यालका सम्बन्धमा उहाँको टिप्पणी थियो- ”रामप्रसाद अर्याल व्यङ्ग्य लेखनमा निर्मम नै हुनुहुन्छ । उहाँका निबन्धमा सिस्नोपानी लगाउनुपर्ने प्रवृत्तिमाथि सटीक व्यङ्ग्य गरिएको छ ।” सामाजिक मूल्य स्थापनाका लागि स्रष्टाहरूले यस्तै किसिमले खबरदारी गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो । इतिहासको सन्दर्भ उल्लेख गरी साहित्यकारले सधैँ सत्तालाई खबरदारी गर्दै आएको कुरा उहाँले व्यक्त गर्नुभयो । वर्तमानको समयका सिर्जनामा सन्तुलन खस्किएको हो कि भन्ने आशंका पनि उहाँको थियो । धेरै निराशा मात्रै नदेखाऔँ भन्दै सकारात्मक सन्देश दिने सिर्जना आजको आवश्यकता रहेको कुरामा उहाँले जोड दिनुभयो । ”साहित्यकारले सियोले जस्तै सिउने काम गर्नुपर्छ कैँचीले झैँ काट्ने होइन” उहाँको निष्कर्ष थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा ‘राराको डिलमा’ कृतिका कृतिकार प्रा.डा. कपिल लामिछानेले नियात्राको प्रवृत्तिलाई झल्काउनुका साथै राराको डिलमा कृतिको रचनागर्भका बारेमा उल्लेख गर्नुभयो । ”जीवन नै यात्रामय छ, हाम्रा सबै गतिविधि यात्रामय छन्, तिनै कुरालाई निबन्धको ढाँचामा प्रस्तुत गरिएको हो” उहाँको कथन थियो ।
कृतिकार रामप्रसाद अर्यालले कृति लेखनको सन्दर्भ उल्लेख गरी सम्पूर्ण व्यक्ति र संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । ”यस सङ्ग्रहभित्र समाजमा भित्रिएका विकृतिको सुधारका लागि लेखिएका रचनाहरू रहेका छन् । व्यङ्ग्य मेरो रुचिको क्षेत्र भएकाले यसैमा कलम चलाएको हुँ” उहाँले उल्लेख गर्नुभयो ।
डा. टंक पन्थद्वारा रामप्रसाद अर्यालको ‘घुस्सा’ निबन्धसङ्ग्रहमाथि टिप्पणी गर्ने काम भयो । अर्यालले निबन्धका माध्यमबाट समाजका विकृतिमाथि व्यङ्ग्यको झटारो हान्नुका साथै सुधार र परिष्कारको आग्रह राखेको कुरा उल्लेख गरियो । सबै नीतिको मूलनीति राजनीति नै प्रदूषित हुनाले राज्यका सबै क्षेत्रलाई असर पारेको निष्कर्षसहित त्यस्ता प्रवृत्तिलाई घुस्सा हान्ने काम भएकोले निबन्धको शीर्षक सार्थक रहेको कुरा प्रकाश पारियो । भाषिक अनुप्रास र उखान टुक्का र लोकोक्तिको मनग्गे प्रयोगले कृतिलाई रोचक र घोचक बनाएको कुरा उल्लेख गरिएको थियो ।
प्रा.डा. कपिल लामिछानेको ‘राराको डिलमा’ कृतिमाथि टिप्पणी गर्ने काम साहित्यकार रुद्र ज्ञवालीले गर्नुभयो । उहाँले नियात्राले समेटेको विषय र अनुभूति पक्षलाई प्रकाश पार्नुभयो । कपिल लामिछानेले आफूले भ्रमण गरेका ठाउँहरूको चित्रात्मक झलक प्रस्तुत गर्नुका साथै सौन्दर्यपूर्ण कलात्मक प्रस्तुतिद्वारा अभिव्यक्तिलाई सजाउन सफल रहेको कुरा उहाँले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरूमा तानसेन न.पा. ९ का वडाध्यक्ष राजेशकुमार अर्याल, वडा नं ८ का वडाध्यक्ष सोमनाथ अर्याल, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्याल, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, वरिष्ठ पत्रकार मेघराज शर्मा हुनुहुन्थ्यो । उहाँहरूले कृतिकार प्रा.डा. कपिल लामिछाने र रामप्रसाद अर्याललाई बधाई ज्ञापन गरी उत्तरोत्तर साधनाका लागि शुभकामनासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्ने काम तरङ्ग साहित्य सङ्गमका उपाध्यक्ष नारायण अधिकारीले गर्नुभयो । कार्यक्रमको सञ्चालनसङ्गमका सहसचिव प्रेमराज खरालले गर्नुभएको हो । सङ्गमका अध्यक्ष साहित्यकार राधाकृष्ण शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
तानसेनबाट टंक पन्थको रिपोर्ट
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला