नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले, न्युजिल्यान्डमा रहेका बालबालिकाहरूलाई नेपाली भाषा सिकाउन र मातृभूमिसँग जोडी राख्न योगदान गर्ने हेतुले तयार पारेको बाल पुस्तक “नेपाली मातृभाषा क ख कोसेली” हालै अनलाइनमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार डा. देवी नेपालले लोकार्पण गर्नुभयो ।

नेपाली भाषा, कला र संस्कृतिलाई प्रवासमा रहेका भावि पुस्तामा हस्तान्तरण गरी जगेर्ना गर्न टेवा पुर्‍याउने ध्येयले न्युजिल्यान्डमा विभिन्न नेपाली सङ्घसंस्थामार्फत नेपाली भाषाका कक्षाहरू सञ्चालन हुदै आएता पनि सबैतिर प्रयोग गर्नको लागि साझा पाठ्यपुस्तकको अभाव र सहज रूपले प्राप्त नभएको हुँदा ती सङ्घसंस्थाहरूले आआफ्नै किसिमले पाठनका विषयवस्तु तय गर्दै आएका छन् । त्यसैले न्युजिल्यान्डभरि नै पाठ्यपुस्तकमा एकरूपता होस् भन्ने हेतुले नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली सङ्घ न्युजिल्यान्डले संयुक्तरूपमा यो पुस्तक तयार पारेर मार्क माइण्डस् प्रा.लि. काठमाडौँको सहयोगमा प्रकाशन गरेका हुन् । पुस्तक डा. वीरेन्द्र केसी, उद्धवप्रसाद अधिकारी, श्रीधर मान सिंह बस्न्यात र डा. घनश्याम परिश्रमीले सम्पादन गर्नु भएको हो ।

नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा. वीरेन्द्र केसीको अध्यक्षता र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डका महासचिव डा अप्रिल अर्यालको संचालन रहेको सो कार्यक्रम वरिष्ठ साहित्यकार प्रा डा देवी नेपालको प्रमुख आतिथ्यमा संचालन भएको थियो । कार्यक्रममा वरिष्ठ गजलकार डा घनश्याम परिश्रमी, वरिष्ठ साहित्यकार कलानिधि दाहाल र साहित्यकार डा. जानुका नेपालको विशिष्ट उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाली साहित्य समाज न्युजिल्यान्डका संस्थापक अध्यक्ष पशुपति कर्माचार्य, सम्पादन समितिका सदस्यहरु उद्धव प्रसाद अधिकारी र श्रीधर मान सिंह बस्न्यात तथा न्युजिल्यान्डका विभिन्न ठाउँमा रहेका नेपाली समुदायका प्रमुख तथा प्रतिनिधिहरु डा. सन्तोष भण्डारी, भवेश सिह, केशव प्रसाद खतिवडा, रेशम शापकोटा, डा दिवाकर भुजेल, डा सलिना ढकाल, जीवन अर्याल, प्रकाश गौतम, विजय रेग्मी, शान्त लामा लगायतको उपस्थिति थियो ।